के हो स्मार्ट सिटी ? भक्तपुरमा अझै तयार भएन आधारपत्र

भक्तपुर न्यूज

६ साउन २०७४ ५:३९

के हो स्मार्ट सिटी ? भक्तपुरमा अझै तयार भएन आधारपत्र

भक्तपुर । सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा सुविधामा जनताको सहभागितासहित पहुँच र दिगो वातावरणीय अवस्थाका साथ सहरबासीको जीवनको गुणस्तर राम्रो हुने सहरलाई नै स्मार्ट भनिन्छ । तर, स्मार्ट सिटीको परिभाषा देशैपिच्छे फरक फरक हुने गरेको छ । नेपालको परिपे्रक्षमा स्मार्ट सिटीको परिभाषा हालसम्म तय भएको छैन । भारतले स्मार्ट सिटीका लागि छ वटा, चीनले सात वटा र हङकङले आठ वटा विभिन्न आधारभूत सूचक राखेको छ । नेपालले के कस्तो सूचक राख्ने भन्ने विषय कम्पनी छनोट भएपछि मात्र तय हुनेछ । सामान्यतया ‘स्मार्ट सिटी’ त्यस्तो सहर हो, जहाँ भौतिक संरचना, सञ्चार र बजार अत्याधुनिक हुन्छन् ।

स्थानीय तहको निर्वाचनमा सबे राजनीतिक दलको एउटै तथा साझा प्रतिबद्धता बनेको थियो स्माटै सिटी योजना निर्माण गर्ने । सरकारी योजना, राजनीतिक दलका चुनावी घोषापत्र या सार्वजनिक बहसमा जहाँ पनि अहिले स्मार्ट सिटीको चर्चा छ तर स्मार्ट सिटी के हो ? त्यहाँ के कस्ता पूर्वाधार वा सेवा सुविधा हुनुपर्छ ? भन्ने आधारपत्र नै अहिलेसम्म तयार भएको देखिदैन् ।

नयाँ सहर आयोजनाले स्मार्ट सिटी निर्माणका लागि आधिकारिक रूपमा मन्त्रिपरिषद् र बजेट भाषणमार्फत जिम्मा पाएपछि भर्खर मात्र स्मार्ट सिटी निर्माणको गुरुयोजना तथा आधारपत्र निर्माणका लागि परामर्शदाताबाट आवेदन माग गरिएको बुझिएको छ । नयाँ सहर आयोजनाका निर्देशक पराग कायस्थले पालुङ्टार, लुम्बिनी र निजगढमा स्मार्ट सिटी निर्माणका लागि परामर्शदाताकोे बोलपत्र आह्वान गरेकोमा ३६ कम्पनीले निवेदन दिएको जानकारी दिए । यसबाहेक नयाँ सहर आयोजनामा अहिलेसम्म स्मार्ट सिटीका लागि ठोस रूपमा यस सम्बन्धमा खासै तयारी भने भएको छैन ।

सरकारले उपत्यकाभित्र चार किल्ला तोकेर ती क्षेत्रमा तीन वर्षसम्मका लागि जग्गा कित्ताकाटमा रोक लगाएको छ । खासगरी चार स्थानमा ‘स्मार्ट सिटी’ बनाउने उद्देश्यले कित्ताकाट रोकिएको उपत्यका विकास प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार चारवटा सिटी बनाउँदा एक लाख ३० रोपनी जग्गा समेटिनेछ ।

पहिलो स्मार्ट सिटी बनाउन चाहिने एक लाख रोपनी जग्गा मूलपानीको क्रिकेट मैदानबाट साँखु जाने मूलसडक तथा शालीनदी पुलबाट तेलकोट हुँदै खरिपाटीसम्म समेट्नेछ । त्यसैगरी, खरिपाटीस्थित नेपाली सेनाको ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापखो आयोजना, बाँडे, मनोहरा हुँदै पुनः मूलपानी क्रिकेट मैदानलाई समेटिने प्राधिकरण प्रवक्ता केशव न्यौपानेले जानकारी दिए ।

दोस्रो स्मार्ट सिटी सूर्यविनायक जंगलको फेदी हुँदै ललितपुरको लामाटार खोला, बालकोट, अरनिको राजमार्ग र कौशलटार भएर पुनः सूर्यविनायकसम्म जोडिनेछ । तेस्रो स्मार्ट सिटीमा खोकना, बंगमती, सैंबु आवास क्षेत्र, बागमती झोलुंगे पुल हुँदै चोभारसम्मको क्षेत्रलाई समेटिएको छ । चौथो स्मार्ट सिटीका लागि तारकेश्वर जाने मूलबाटो सिम्लेश्वर र त्यहाँबाट झोर हुँदै फूलबारीमार्ग, टोखा बाइपाससम्मको १० हजार रोपनी क्षेत्रफलको जग्गा समेटिएको छ ।

 मध्यपुरथिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले स्मार्ट सिटी निर्माणका लागि पहल शुरु भएको बताउँदै इच्छाशत्तिः लिएर सबै नगरका प्रतिनिधिहरु लागि परे भक्तपुरलाई स्मार्ट सिटी शहर बनाउन सकिने बताए । स्मार्ट सिटी बन्छ उनले भने ‘तर केही समय लाग्न सक्छ ।

भक्तपुरका  नगरपालिकाका नगर प्रमुखहरु स्मार्ट सिटीका बारेमा निर्वाचन ताका गरिएको प्रतिबद्धता अनुसार नै अघि बढिरहेको दाबी गर्छन । तर उनीहरु नै वास्तवमा स्मार्ट सिटी भनेको के हो र कस्तो हुनुपर्छ भन्ने कुरामा अन्यौलमै रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *