सन्दीपले थुना बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने

भक्तपुर न्यूज

२६ पुष २०८० १०:१३

सन्दीपले थुना बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने

काठमाडौं । बलात्कारको कसुरमा दोषी ठहर भए पनि क्रिकेटर सन्दीप लामिछानेले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन्। लामिछानेलाई १० वर्षभन्दा कम सजाय तोकिएकाले उनले जेल बाहिर रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन्।

उनले आठ वर्ष कैद सजाय पाएकाले बाहिरै बसेर पुनरावेदन गर्न पाउने सुविधा पाएका हुन्। मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १३७ मा ६ देखि १० वर्षभन्दा कम सजाय तोकिएका मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्चमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ।

यो सुविधा लिन लामिछानेले काठमाडौं जिल्ला अदालतले तोकेको जरिवाना र क्षतिपूर्ति ५ लाख र कैद सजायको प्रतिदिन ३०० रुपैयाँका दरले ८ वर्षको कुल ८ लाख ८७ हजार गरी जम्मा १३ लाख ८७ हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ।

बलात्कार मुद्दामा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले यही पौष १३ गते लामिछानेलाई दोषी रहेको ठहर गरेको थियो। बुधबार ढकालकै इजलासले लामिछानेलाई ८ वर्षको सजाय तोकेको हो।

अब लामिछानेले जेल नजाँदै यो फैसलाको विरुद्धमा उच्च अदालत पाटनमा पुनरावेदन गर्न सक्छन्। फैसलाको पूर्णपाठ आएपछि सन्दीपले पुनरावेदनको मौका पाउने छन्। पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सक्ने कानूनी प्रावधान छ।

प्रकाशित मितिः २०८० पौष २६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय