सुलभ फार्मेसी स्थापना गर्न भाडामा घर लिँदै काठमाडौं महानगर

भक्तपुर न्यूज

४ पुष २०८० ८:५८

सुलभ फार्मेसी स्थापना गर्न भाडामा घर लिँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सस्तोमा औषधि बिक्री गर्न घर भाडामा लिने भएको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले एक सूचना जारी गर्दै काठमाडौंका ५ स्थानमा सुलभ फार्मेसी स्थापना गर्न घर भाडामा दिने प्रस्ताव गरेको हो ।

सूचना प्रकाशनको १५ दिनभित्र मासिक के कति दरमा दिन सकिने हो, सो उल्लेख गरी गोप्य सिलबन्दी खामसहित काठमाडौं महानगरपालिकाको कार्यालय, स्वास्थ्य विभागमा दर्ता गराउन अनुरोध गरिएको छ ।

महानगरले घर भाडामा लिन महाराजगञ्ज क्षेत्र वडा नम्बर ३ को स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट १०० देखि २०० मिटरभित्रको क्षेत्र, वीर अस्पताल क्षेत्र वडा नम्बर २२ को स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट १०० देखि २०० मिटरभित्रको क्षेत्र, कालीमाटी क्षेत्र वडा नम्बर १३ को स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट १०० देखि २०० मिटरभित्रको क्षेत्र र लैनचौर क्षेत्र वडा नम्बर २६ को स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट १०० देखि २०० मिटरभित्रको क्षेत्रका स्थानहरु तोकेको छ ।

भाडामा लिने घरको आवश्यक न्यूनतम मापदण्ड

महानगरका अनुसार भाडामा लिने घर तथा कोठाको क्षेत्रफल न्यूनतम ८०० देखि १२०० वर्ग फिट भएको तथा नक्सा पास हुनुपर्नेछ । कम्तीमा ३ वटा कार तथा ५ वटासम्म दुई पाङ्ग्रे सवारी पार्किङ गर्न मिल्ने पार्किङ स्थान भएको हुनुपर्नेछ ।

त्यस्तै मुख्य सडक वा कम्तीमा ६ मिटर फराकिलो सडकको किनारा रहेको घर हुनुपर्ने महानगरले जनाएको छ । घर, जग्गाको कर नियमानुसार भुक्तानी भएको हुनुपर्नेछ । बिजुली बत्ती, पानी, तथा शौचालय (सकेसम्म फरक क्षमतामैत्री समेत) भएको हुनुपर्नेछ ।

कम्पनी वा व्यक्तिको नाममा रहेको हुनुपर्नेछ । स्वास्थ्य प्रवर्द्धन केन्द्रसँग जोडिएको वा सँगै रहेको भवनलाई प्राथमिकता दिइनेछ ।

प्रकाशित मितिः २०८० पौष ०४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय