आज अस्ताउँदो सूर्यको पूजा गरी छठ मनाइँदै

भक्तपुर न्यूज

३ मंसिर २०८० ६:१०

आज अस्ताउँदो सूर्यको पूजा गरी छठ मनाइँदै

काठमाडौं । छठ पर्वको आज आइतबार तेस्रो दिन । आजको दिनलाई छठ भनिन्छ । यस दिन व्रतालुहरू पानी पनि नपिइ निर्जला व्रतको रुपमा बस्दछन् ।

आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदैछ । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व शुक्रबारदेखि सुरु भएको थियो ।

आज बिहानदेखि पानीसमेत नपिएका व्रतालुहरू साँझपख जलाशयमा पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ्यसहित पूजा गर्दछन् । अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ्य चढाउन रातभर त्यही जलाशय किनारमा जाग्राम बस्ने गर्छन् ।

सद्भाव र भातृत्वको प्रतीकसमेत मानिने यस पर्वलाई बढो हर्ष अनि उल्लासका साथ नदी, ताल तलैया या पोखरीको किनारमा शृङ्गार गरेर तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको किरणलाई अर्घ्य दिएर यो पर्व मनाइने गरिन्छ ।

यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । छठ पर्वमा व्रत गरेर सूर्यको पूजा गरे सन्तान सुख प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

ठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरी, गौरीघाट भक्तपुरको कमलविनायकमा पूजा आराधनाको व्यवस्था गरिएको छ ।

छठ पर्वको मुख्य दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय