भूकम्पबाट मृत्यु हुनेको संख्या १५३ कायम, हिजोको परकम्पमा १३ घाइते

भक्तपुर न्यूज

२१ कार्तिक २०८० ५:२९

भूकम्पबाट मृत्यु हुनेको संख्या १५३ कायम, हिजोको परकम्पमा १३ घाइते

काठमाडौं । जाजरकोटमा कात्तिक १७ गते राति भएको भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ। यसअघि मृत्यु भएको संख्या १५७ उल्लेख भए पनि चार जनाको दोहोरो विवरण परेकोले सो संख्या घटाइएको गृह मन्त्रालयले जनाएको छ।

भूकम्पमा घाइते भएका ३७५ जनामध्ये रुकुम पश्चिममा पाँच, जाजरकोटमा तीन, बाँकेमा ४२, सुर्खेतमा १७ र काठमाडौँमा नौ गरी ७६ जना उपचाररत छन्। बाँकी २९९ जना घाइते उपचारपश्चात् घर फर्किएको जनाइएको छ।

यसैगरी, सोमबार अपराह्न जाजरकोटकै रामीडाँडा केन्द्रबिन्दु भई गएको ५.८ म्याग्निच्युडको परकम्पबाट रुकुम पश्चिममा ११ र जाजरकोटमा दुई जना घाइते भएका छन्। थप विवरण संकलन भइरहेकाले क्षतिको यकिन विवरण प्राप्त हुने क्रम जारी रहेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाए।

साथै, विभिन्न संघ संस्थाको सहयोगमा प्राप्त राहतका सामग्रीहरू प्रभावित क्षेत्रमा पुग्ने क्रम जारी रहेको उनले विज्ञप्तिमार्फत जनाएका छन्। राहतका नाममा कुनै व्यक्ति वा संस्थाले रकम तथा सामान संकलन गर्न नपाइने र दाताबाट प्राप्त सहयोग एकद्वार प्रणाली अपनाई वितरण गर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मितिः २०८० कार्तिक २१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय