महामन्त्रीद्वयसँग प्रधानमन्त्री भेट्न बालुवाटार पुगे देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महामन्त्रीद्वयसँग बालुवाटार पुगेका छन्। देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै बालुवाटार पुगेका हुन्। उनीहरूकाे साथमा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा पनि रहेका छन्।
भेटघाटमा कांग्रेस नेताहरूले जाजरकाेट भूकम्पबाट पीडित भएका जनतालाई तत्काल राहत उपलब्ध गराउन माग गरेका थिए। नेपाली कांग्रेसले भूकम्पपीडितकाे उद्धार तथा राहतका लागि सरकारलाई ५० लाख दिने निर्णय गरिसकेकाे छ।
यसैगरी, कांग्रेसले महामन्त्रीद्वय थापा र शर्माको संयोजकत्वमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन तथा सहजीकरण समितिसमेत गठन गरिसकेको छ। आइतबार बिहान बसेकाे कांग्रेसकाे केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे।
जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण ठूलो जनधनको क्षति भएकाे छ।
प्रकाशित मितिः २०८० कार्तिक २१ मंगलबार
