राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी फर्किए

भक्तपुर न्यूज

१५ कार्तिक २०८० ५:४१

राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी फर्किए

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार फर्किएका छन्।महासचिव गुटेरेसलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरेका छन्। परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधि लगायत उपस्थित थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते काठमाडौं आएका थिए। महासचिव गुटेरेसले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग महासचिव गुटेरेसको अगल–अलग भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधारशिविर क्षेत्रका साथै पोखरा र लुम्बिनीको पनि भ्रण्मा गरेका थिए। उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए। भम्रणका दौरान उनले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि नेपालको भ्रमणमा आएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरिबी निवारणलगायत विषयमा छलफल गरेका थिए। राष्ट्रसङ्घका महासचिवको करीब १५ वर्षपछि नेपालमा भएको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारीहरू सहभागी थिए।

प्रकाशित मितिः २०८० कार्तिक १४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय