मनसुनजन्य विपदमा परेर अहिलेसम्म ४१ जनाको मृत्यु , ३१ जना बेपत्ता
काठमाडौं । मनसुनजन्य विपदमा परेर अहिलेसम्म ४१ जनाले ज्यान गुमाएका छन् भने ३१ जना बेपत्ता छन् । गृह मन्त्रालयका अनुसार मनसुन भित्रिएदेखि अहिलेसम्म विपदबाट ५० जिल्ला प्रभावित भएका छन् । त्यसमध्ये २० जिल्लामा मानवीय क्षति भएको छ ।
विपदमा परेर एक सय ३० घरमा पूर्णरुपमा क्षति पुगको छ भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ । मनसुन सुरु भएकै बेलामा पूर्वी पहाडी जिल्ला पाँचथर, सङ्खुवासभा, ताप्लेजुङलगायतमा ठूलो वर्षा भएको थियो । वर्षापछि आएको बाढी पहिरोमा परेर यी जिल्लामा धेरै जनधनको क्षति भएको थियोे ।
मनसुन सुरु भएपछि निश्चित क्षेत्रमा मात्रै पानी परेको थियो भने बेलाबेलामा खण्डे वर्षा भने भइरहेको थियो । तर गएको सोमबार र मङ्गलबार देशभर पानी पर्यो । मनसुन सुरु भएपछि पहिलोपटक एकसाथ देशभर वर्षा भएको हो ।
मनसुन सक्रिय रहेकाले आज बिहीबार पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । उनका अनुसार आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकर दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यसपाली गएको जेठ ३१ गते पूर्वी क्षेत्र हुँदै मनसुन नेपाल भित्रिएको थियो ।
प्रकाशित मितिः २०८० साउन २५ बिहिबार