भैरवनाथको रथ तानेर सुरु गरियो भक्तपुरमा बिस्केट जात्रा

भक्तपुर न्यूज

२७ चैत २०७९ १२:०६

भैरवनाथको रथ तानेर सुरु गरियो भक्तपुरमा बिस्केट जात्रा

काठमाडौं । नयाँ वर्षको आगमनसँगै सुरु हुने भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्केट जात्रा सुरु भएको छ । शनिबार बिहानै गणेश कर्माचार्यबाट भैरवनाथको पूजा गरी बिहान ८ बजेसम्म टोलटोलमा पूजा गरियो । दिउँसो भैरव र भद्रकाली देवतालाई आआफ्नो रथमा विराजमान गराएपछि भैरवनाथको रथमा तलेजुका पुजारी र नाइकेले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट लगेको सरकारी पूजा र स्थानीयको पूजा सकेर रथ तान्न सुरु गरिएको छ ।

बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तानेर जात्रा मनाइएको छ । जात्रा अवधिभर प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । जात्राका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सादा पोसाकका प्रहरी गरी दुई हजार प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिएका छन् ।

रथ तान्ने क्रममा झडप हुने, ढुङ्गा हानाहान हुने भएकाले यस्तो हुन नदिन सुरक्षाकर्मी तैनाथ गरिएको र चोकचोकमा सिसी क्यामरासमेत जडान गरिएको छ । विक्रम संवत्अनुसार सौरमासको आधारमा लिच्छवीकालभन्दा अघिदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केट जात्रा बिस्केट अर्थात ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ ।

यो जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजाने तान्ने परम्परा छ । भूकम्पले रथ तान्ने रुटका घरमा टेको लगाइएकाले दुर्घटना नहोस् भनेर यसवर्ष रथ चलाउने रुट छोट्याइएको छ ।

चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहेको छ । त्यसैले पनि यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ ।

प्रकाशित मितिः २०७९ चैत्र २७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय