भक्तपुरमा मेलम्चीको खानेपानी वितरण सुधार कार्य गर्न समझदारी
भक्तपुर । भक्तपुरका विभिन्न स्थानहरुमा पाइपलाइन इन्टरकनेक्सन गरी थप क्षेत्रमा मेलम्चीको खानेपानी वितरण सुधार कार्य गर्न समझदारी भएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबीच बसेको बैठकमा उक्त समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
भक्तपुर नपाअन्तर्गतका विभिन्न क्षेत्रहरूमा खानेपानीको निकै समस्या देखिएकोले उक्त क्षेत्रमा तत्काल वितरण प्रणाली सुधार गर्न अरनिको राजमार्ग सूर्यविनायक बाराही चोकदेखि जगाती हुँदै सूर्यमढीसम्म खानेपानीको पाइपलाइन विस्तार तथा जडान कार्य गर्न अनुमानित ल.ई. मध्ये भक्तपुर नगरपालिका र का.उ.खा.लि. ले साझेदारीमा लागत व्यहोर्ने निर्णय गरेको छ ।

नयाँ पाइपलाइन विस्तार गरी मेलम्चीको स्थायी वितरण प्रणाली बनाउन ढिलाई हुने देखिएकोले तत्कालका लागि पुरानै पाइपलाइनबाट पानी वितरण गर्न समझदारी भएको हो ।
भक्तपुर नगरपालिका क्षेत्रमा मेलम्ची खानेपानी वितरण प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने क्रममा बाराहीस्थान–जगाती च्याम्हासिंहदेखि सूर्यमढीसम्म खानेपानीको पाइप बिछ्याउने, त्यस्तै अन्य विभिन्न स्थानहरुमा पाइप बिछ्याउने कार्यमा भक्तपुर नगरपालिकाद्वारा गरिने खर्च रकमलाई काठमाडौं उपत्यका खानेपानी लिमिटेड (के.यु.के.एल) को शेयर खरिदमा रुपान्तरण गर्न आवश्यक पहल गर्ने पनि सो बैठकले निर्णय गरेको छ ।
बैठकले का.उ.खा.लि.बाट मौज्दातमा रहेको पाइप तथा फिटिङ्स प्रयोग गर्ने गरी तत्काल काम सुरु गर्ने र नपुग पाइप तथा फिटिङ्स का.उ.खा.लि.बाट उपलब्ध गराउने र पाइपलाइन जोड्ने कार्यहरुसमेत गरिने निर्णय गरेको छ । साथै पाइपलाइन विस्तार कार्य गर्ने क्रममा सडक, खानेपानी, ढलको पाइपलाइन एवम् अन्य कार्यको खर्च भक्तपुर नगरपालिकाबाट व्यहोरिने र कामको गुणस्तर कायम गर्न प्राविधिक सहयोग का.उ.खा.लि.बाट गरिने विषयमा समझदारी गरिएको छ ।
उक्त बैठकमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सन्जिव विक्रम राणा, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्य, भक्तपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, खानेपानी सञ्चालन महाशाखाका प्रमुख रमेश के.सी., केयुकेएल भक्तपुर शाखा प्रमुख चेतबहादुर ऐर,भनपा ७ का वडाध्यक्ष उकेश कवां र भनपा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वको उपस्थिति रहेको थियो ।
