सरकारका सचिव तथा सहसचिवलाई सात दिनभित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन

भक्तपुर न्यूज

३० फागुन २०७९ ६:३७

सरकारका सचिव तथा सहसचिवलाई सात दिनभित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय किताबखाना (निजामती) ले नेपाल सरकारका सचिव तथा सहसचिवसरहका कर्मचारीलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ । किताबखानाले सूचना प्रकाशित गरी सात दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो ।

कर्मचारीको सरुवा, बढुवा र पदस्थापन विज्ञताका आधारमा गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको राष्ट्रिय किताबखानाका महानिर्देशक डा टोकराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार कतिपय कर्मचारीको सुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको र सरुवा, बढुवाको विवरणसमेत अद्यावधिक नरहेकाले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको हो । यो निर्णय सबै सेवा समूहका कर्मचारीका लागि लागू हुने महानिर्देशक डा पाण्डेयले बताए । 

विवरण अद्यावधिक गर्न किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ । हाल निजामती सेवामा सचिवसरहका ७० र सहसचिवसरहका सबै सेवा समूहका झण्डै सात सय ५३ कर्मचारी कार्यरत रहेका छन् ।

प्रकाशित मितिः २०७९ फागुन ३० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय