उम्मेदवारको पक्ष-विपक्षमा उभिने प्रशासनमाथि तत्काल कारबाही गर्ने आयोगकाे चेतावनी

भक्तपुर न्यूज

२८ कार्तिक २०७९ ४:२८

उम्मेदवारको पक्ष-विपक्षमा उभिने प्रशासनमाथि तत्काल कारबाही गर्ने आयोगकाे चेतावनी

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरूको पक्ष/विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताएका हुन्।

उनले स्थानीय प्रशासनका कर्मचारीहरूले चुनावलक्षित राजनीतिक दलका कुनै पनि उम्मेदवारहरूसँग पक्ष/विपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने बताए।

निर्वाचन आयुक्त भण्डारीले कुनै पनि स्थानीय प्रशासनहरू उम्मेदवारहरूको पक्ष/विपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन पनि सञ्चारमाध्यमहरूलाई आग्रह गरे।

उनले भने, ‘दलहरूको पक्ष र विपक्षमा स्थानीय प्रशासन लाग्दैन भन्नेमा हामी ढुक्क छौँ। कुनै ठाउँको स्थानीय प्रशासन कुनै उम्मेदवारको पक्षमा लागेर अरूको विपक्षमा लागेको देखियो भने ततक्षण नै कारबाही हुन्छ। अहिलेसम्म हामीले पाएको प्रगति विवरण अनुसार कुनै पनि ठाउँबाट त्यस्ता चुनौती आएका छैनन्। र, अब आउँदा पनि आउँदैनन्। चुनौती आउनु पनि हुँदैन। त्यसैले विषय विषयमा पनि हामीले मसिनो ढंगले निगरानी गरिराखेका छौँ। यदि तपाईंहरूलाई कुनै ठाउँबाट यस्तो निर्देशन आयो भने कृपया आयोगलाई जानकारी दिनुस् आयोगले तत्कालै कारबाही गर्छ। कतिपय ठाउँबाट मुख्य निर्वाचन अधिकृत र त्यहाँको प्रशासन सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारीबीच समन्वय भएन भन्ने आयो। मैले त्यो समस्या समाधान गर्नुपर्छ भनेर निर्देशन दिएको छु। यदि त्यस्तो कसुर आयो भने त्यो गम्भीर प्रकृतिको कसुर हुन्छ। निर्वाचनलाई असर पार्ने किसिमको कुनै पनि क्रिया गर्न नै पाइँदैन।’

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिने पनि बताएको छ। उल्लंघनको घटना बढाउने सक्ने आँकलन गरी आयोगले सोही अनुसारको सुरक्षाकर्मी परिचालनको व्यवस्था गरेको पनि उनले बताए।

निर्वाचन आयुक्त भण्डारीले भने, ‘आचारसंहिता कुनै पनि ठाउँमा उल्लंघन हुन लागेको छ भने त्यसलाई तत्काल कारबाही गर्नुपर्छ भनेर हामी सबै पनि सचेत भएर लागेका छौँ। यसको अतिरिक्त स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई पनि अब जटिल समय आउन सक्छ त्यसो भएर तपाईंहरू सचेत भएर कारबाही गर्नुस् भनेर हामीले भनिसकेका छौँ। त्यसो हुनाले आयोगलाई लाग्छ कि, अब यस्ता किसिमका घटनाहरू हुँदैनन्। सबै अनुशासित भएर, आचारसंहिताको परिधिभित्र रहेर आचारसंहिताको ख्याल गर्नुहुन्छ। त्यो पनि कहिलेसम्म प्रचारप्रसार गर्न पाउने हो, त्यसको सीमा निर्धारण पहिल्यै गरिएको छ। त्यो भनेर अब त्यस्तो घटना आउँदैन भन्ने
होइन, आउन सक्छन्। तर त्यसलाई तत्क्षणमा नियन्त्रण गर्न हामीसँग साधन सक्षम छ। एकदम सचेत छ।’

उनले निर्वाचन आयोगले गृह प्रशासनले सम्भावित झडप हुने ठाउँमा आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाएको बताए।

निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्न गृह प्रशासनलाई पटकपटक निर्देशन दिएको पनि बताए।

उनले भने, ‘गृह प्रशासनलाई पनि हामीले प्रशस्त निर्देशन दिएका छौँ। कुनै पनि ठाउँमा शान्ति, सुरक्षा, अमनचैन उल्लंघन हुने कुनै पनि काम हुनुहुँदैन। निर्वाचन प्रयोजनका लागि विभिन्न बेलामा विभिन्न किसिमका झडपहरू हुन सक्छन्। त्यो सबै नियन्त्रण हुनुपर्दछ। त्यो झडप नहुने प्रकृतिले पहिल्यै तयारी गरेर सम्बन्धित ठाउँमा बस्नुपर्दछ भनेर हामीले भनिसकेका छौँ। सोही अनुरूप गृह प्रशासनले पनि उहाँहरूका सबै प्रमुख जिल्ला अधिकारीहरू र त्यसको अतिरिक्त सुरक्षाकर्मीहरूलाई सबैलाई एकदम सचेत गराएर राख्नुभएको छ।’

निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आयोगले सबै खालका शक्ति परिचालन गरिरहेको पनि बताए।

प्रकाशित मितिः २०७९ कार्तिक २८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय