महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती आज मनाइँदै

भक्तपुर न्यूज

७ कार्तिक २०७९ ५:४२

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती आज मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती आज सोमबार मनाइँदैछ ।

महाकवि देवकोटाको जन्म वि सं  १९६६ साल कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।

दश वर्षको उमेरमा कविता लेख्न सुरू गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका थिए ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्तरूपसँग तुलना गरेका थिए । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।

नेपाली साहित्यमा अतुलनिय योगदान दिएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो ।

महाकवि देवकोटा जयन्तीका अवसरमा गत शुक्रबारदेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ । यस अवसरमा सोमबार पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ ।

प्रकाशित मितिः २०७९ कार्तिक ७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय