पाँचवटा प्रश्नको जवाफ सकेर २५ गतेसम्म स्थगित भयो चोलेन्द्रको बयान

भक्तपुर न्यूज

१९ भदौ २०७९ ८:१८

पाँचवटा प्रश्नको जवाफ सकेर २५ गतेसम्म स्थगित भयो चोलेन्द्रको बयान

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग सिफारिस समितिको बैठकमा आज तेस्रो दिन बयान लिइएको छ।

जबरासँगको बयान अब २५ गतेसम्मका लागि स्थगित गरिएको समिति सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बताए। बयानको क्रममा चोलेन्द्रलाई समितिले आज पाँचवटा प्रश्न सोधेको उनले बताए।

समितिले बयानको लागि लागि ४३ वटा प्रश्न तय गरेको छ। यसअघि पहिलो दिन चारवटा तथा दोस्रो दिन दुई गरी छवटा प्रश्न सोधेको थियो। निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको र संविधान र कानुनबमोजिम काम गर्दै आएको बयान दिइरहेका छन्।

६ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहेका राणाको महाअभियोग प्रमाणित हुने वा नहुने विषयको तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ।

उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो। राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते मात्र सो समितिको पहिलो बैठक बसेको थियो। राणाविरुद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियोे। उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारण समेटिएको छ।

प्रकाशित मितिः २०७९ भदौ १९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय