साझाले थप विद्युतीय बस ल्याउँदै
काठमाडौं । साझा यातायातले थप बिजुली बस खरिद गर्न प्रक्रिया सुरु गरेको छ । ३ वटा बिजुली बसको सफल परीक्षणपछि थप ३७ वटा र अन्य प्रकारका बस ल्याउन अन्तिम तयारी गरिएको छ ।
साझा यातायातका सञ्चालक भुषण तुलाधरले बिजुली बस निर्माता र आपूर्तिकर्ता कम्पनीलाई आफूसँग उपलब्ध बसको सुविधा र विशेषतासहितको स्पेसिफिकेसन दिन आग्रह गरिएको बताए ।
साझा यातायातले अन्तरप्रदेश समेत चल्ने गरी बिजुली बस ल्याउन तयारी गरिरहेको छ । एकैपटक ठूलो संख्यमा बस ल्याउँदा चार्जिङ र पार्किङको पनि समस्या हुने भएकाले अबको लटमा पनि धेरै ठूलो संख्यामा बस नलाइने साझाले बताएको छ ।
साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बसले २३ असारदेखि काठमाडौंंमा सेवा थालेका थिए । पहिलो चरणमा ल्याइएका बिजुली बसले साझाले नियमित सेवा दिंदै आएका रुटहरुमा सेवा दिइरहेको छ ।
आगामी दशैंसम्म बाँकी ३७ वटा पनि ल्याइसक्ने तयारी छ । चीनको सीएचटीसीएचओ बसको आपूर्तिकर्ता कम्पनी ‘दि गो’सँग साझाले करिब ६१ करोड रुपैयाँमा ४० वटा बस किनेको हो ।
अहिले ९ मिटर लामो बस किनिएको छ । यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना छ । अहिले चलेका बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायत विशेषता पनि छन् । अपांगहरु चढ्न मिल्ने ¥याम्पसहितको सुविधा पनि छ ।
क्रमैसँग आधुनिक सुविधासहितको विद्युतीय बसहरु थप्ने जाने साझाले जनाएको छ ।
