नाइरोबी फ्लाईको सम्पर्कले गराउन सक्छ छालामा संक्रमण,साबधानी अपनाउन सुझाब

भक्तपुर न्यूज

२४ असार २०७९ २:४२

नाइरोबी फ्लाईको सम्पर्कले गराउन सक्छ छालामा संक्रमण,साबधानी अपनाउन सुझाब

काठमाडौं । भारतको पूर्वी सिक्किमको एक इन्जिनिरिङ कलेजका करिब एक सय जना विद्यार्थीहरु नाइरोबी फ्लाईको सम्पर्कमा आएपछि उनीहरुको छालामा संक्रमण देखिएको छ।

पूर्वी अफ्रिकामा पाइने किराको प्रजाति नाइरोबी फ्लाई सिक्किमको मनिपाल इन्स्टिच्युट अफ टेक्नोलोजीमा कलेजमा तीव्र गतिमा फैलिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

कलेजले संक्रमित भएका विद्यार्थीहरुको उपचार गरिरहेको र उनीहरु निको भइरहेको जनाएको छ। संक्रमित भएको एक विद्यार्थीको हातमा भने शल्यक्रिया गरिएको थियो।

भारतमा यसको संक्रमण फैलिँदै गर्दा सीमा जोडिएका नेपालका जिल्लाहरुमा यसको जोखिम उच्च रहने सक्ने विज्ञहरुले बताएका छन्। यसबाट बच्नका लागि साबधानी अपनाउन सुझाब दिएका छन्।

के हो नाइरोबी फ्लाई?

यसबाट संक्रमित भएका बिरामीलाई मेडिकल भाषमा ‘इरिटेड कन्टेक्ट डर्माटाइटिस्’ भनिन्छ। यो किरालाई पिडरेस डर्माटाइटिस् नामले पनि चिनिन्छ। पिडरेस किराको नाम हो र डर्माटाइटिस छालामा हुने घाउलाई भनिन्छ।

नाइरोबी फ्लाई किरा अफ्रिकाबाट आएको हो। यो किरा अहिले विभिन्न देशमा फैलिएको छ जसले गर्दा एक किसिमको प्रकोप फैलिन थालेको छ।

नाइरोबि किरा सुन्तला र कालो रंगको हुन्छ। यो उच्च वर्षा हुने क्षेत्रमा फस्टाउँछ।

यो किराबाट मानिस कसरी प्रभावित हुन्छन्?

यो किराले मानिसलाई टाेक्दैन। यदि कोही व्यक्तिको छालामा बस्दा बाधा पुग्यो भने यसले एक घातक ‘एसिड’ पदार्थ छाड्छ। यो एसिड छालाको सम्पर्कमा आएमा छालामा जलन हुन्छ। जसले गर्दा छालामा घाउ, असामान्य दाग वा छालाको रंगमा परिवर्तन ल्याउन सक्छ।

संक्रमणका कारण शरीरमा स–साना पानीकाे फोका निस्कन्छ। फोकाको बीचमा कालो दाग हुन सक्छ। शरीर पोल्न सक्छ। चिलाउन पनि सक्छ। कुनै – कुनै बेला जिउ दुख्न पनि सक्छ।

यस्तो लक्षण देखिएको छ भने तुरुन्तै चिकित्सकको सम्पर्कमा जानुपर्छ।

यसको उपचार सही तरिकाले नभएको खण्डमा एक ठाउँबाट जिउभरि नै फैलिन सक्छ जसले गर्दा विरामीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन सक्छ।

जति सक्यो चाँडो यसको उपचार गर्ने हो भने जिउभर फैलिने सम्भावना एकदमै कम हुन्छ।

यसको संक्रमणका कारण प्रकोप भएको छ?

सन् १९९८ मा असामान्य रुपमा भारी वर्षा भएका कारण केन्या र अफ्रिकामा प्रकोप भएको थियो। यस क्षेत्रमा ठूलो संख्यामा किरा आएपछि प्रकोप भएको एपीको रिपोर्टमा उल्लेख छ।

हालसम्म यसको संक्रमिण अफ्रिका बाहिर जापान, इजरायल, पाराग्वे र विगतमा भारतमा देखिन थालेको छ।

बच्नका लागि के गर्ने?

यो किरा बत्तीको प्रकाशमा धेरै आकर्षित हुने गर्छ। त्यसले गर्दा साँझ परेपछि घर बाहिरको बत्तीहरु बाल्नु हुँदैन। घरको छेउछाउमा ‘स्ट्रिट लाइट’ छ भने त्यो बन्द गरिदिनु पर्छ। घरभित्रको बत्तीहरु पनि सकेसम्म ‘डिम’ राख्नुपर्छ। एकदमै उज्यालो पारेर बस्नु हुँदैन।

लुगा लगाउनु अगाडि मज्जाले टक्टक्याएर लगाउनु पर्छ। त्यसैगरी सुत्ने बेला बिस्तरा, सिरक राम्रोसँग झारेर वा नयाँ परिर्वतन गरेर सुत्नु पर्छ।

किरा बसेको ठाउँलाई साबुन पानीले राम्रोसँग धुनुपर्छ। किरा बसेको ठाउँबाट उडेर गएपनि त्यसले विषाक्त तरल पदार्थ (एसिड) छोडेको हुन सक्छ। त्यसैले हात तथा उक्त ठाउँलाई राम्रोसँग नधुन्जे्लसम्म शरीरको कुनै पनि अन्य भाग छुनु हुदैन। अझ विशेष गरी आँखा छुनु हुँदैन।

उपचार विधि?

यसकै लागि खास उपचार छैन। किराले टोकेपछि एलर्जीको औषधि प्रयोग गर्नुपर्छ। घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनु पर्ने चिकित्सक बताउँछन्।

प्रकाशित मितिः २०७९ असार २४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय