चाँगुनारायण नगरपालिकाको विकासमा लागी पर्छु : खड्का

भक्तपुर न्यूज

२० वैशाख २०७४ ८:०८

चाँगुनारायण नगरपालिकाको विकासमा लागी पर्छु : खड्का

२०३७ मा नेपाल विद्यार्थी संघको सदस्यको रुपमा नेपाली काँग्रेसको राजनीतिमा हुमिएका राजाराम खड्का भक्तपुर जिल्लाकै चर्चित नाम हो । उनी तत्कालिन छालिंग गाविसका ८ नंम्बरको वडा अध्यक्ष, जिल्ला विकास समितिको क्षेत्रीय सदस्य, महाधिवेशन प्रतिनिधी नेपाली काँग्रेस भक्तपुरको कोषाध्यक्ष समेत भैसकेका खड्का यतिबेला चाँगु नारायण नगरपालिकाको मेयर पदका उम्मेदवार हुन् । उनै नगर प्रमुख पदका उम्मेदवार नेता खड्कासँग स्थानीय तहको निर्वाचनकाबारे भक्तपुर न्यूज डटकमका सहकर्मी कमल न्यौपानेले गरेको कुरोकानीको सारसंक्षेप ः

चाँगुनारायणमा चुनावी चहलपहल कस्तो छ ?
– यस क्षेत्रमा चुनावी माहोल बढेको छ । नागरिक यतिबेला उत्साहित भएका छन् । नेता तथा कार्यकर्ता मात्रै नभई आम मतदाता चुनावमा होमिएका छन् । चुनावी माहोलले यतिबेला चाँगुनारायण क्षेत्र काँग्रेसमय बनेका छ भने प्रचारप्रसारको अभियान तीब्र रुपमा चलिरहेको छ ।
चाँगु नगरप्रमुख पदको उम्मेदवार हुनुहुन्छ, कस्तो छ जितको सुनिश्चितता ?
– हाम्रो नगरपालिकामा नेपाली काँग्रेसको जीत सुनिश्चित छ । किन भने यो नगरपालिका क्षेत्र नेपाली काँग्रेसको आधार क्षेत्र हो । म यस क्षेत्रबाट गाविसदेखि जिविससम्म विभिन्न पदमा निर्वाचित हुनुका साथै जिविस सर्वदलिय सयन्त्रमा समेत रही काम गरेको कारण पनि जनताले मलाई सहयोग गर्ने निश्चित छ ।
तपाईले निर्वाचन जित्नु भयो भने यो नगरको विकासका लागि  योजना के के छन् ?
– यो नगरको समृद्धिका लागि यहाँको समग्र विकासमा लागिपर्छु । चाँगु क्षेत्र देशकै नमूना धार्मिक पर्यटकिय क्षेत्र भएकोले पनि यहाँको धार्मिक तथा पर्यटन विकासलाई अझैं समृद्धितर्फ लैजाने विभिन्न योजनाहरु बनाएको छु । यो नगर नयाँ भएकोले यस नगरलाई स्मार्ट सिटीका लागि आबश्यक योजना तयार गर्नेछु । यहाँको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाई लगायतका क्षेत्रको विकासका साथै यहाँको पर्यावरणिय प्रदुर्षणलाई नियन्त्रण गर्नका लागि हरित नगरका रुपमा यस नगरलार्ई विकास गर्ने लगायतका योजनाहरु रहेका छन् । यहाँ रहेको इट्टा भट्टा र वालुवाखानीलाई व्यवस्थित सञ्चालनमा ल्याउनेछु । यस नगरमा अव्यवस्थित रुपमा रहेका कलकारखाना, उद्योगधन्दालाई व्यवस्थित गरी यहाँको उत्पादनलाई बृद्धि गर्नुका साथै उत्पादित बस्तुलाई गुणस्तरता प्रदान गर्न पनि सक्रिय रुपमा लाग्ने छु । यहाँको जल, जमिन र वनलाई यस क्षेत्रका स्थानियहरुको समुचित समान्नतर  प्रयोग गर्न पाउने व्यवस्थाका लागि आबश्यक पहल गर्नेछु । देशकै पर्यटकिय क्षेत्र नगरकोटलाई नमूना पर्यटकिय क्षेत्रका रुपमा घोषणा गरी विश्वजगतलाई नै यो नगरलाई नमूना नगरका रुपमा स्थापित गर्ने योजना पनि बनाएको छु ।  ताथलीदेखि सुडाल, बागेश्वरी नगरकोट छालिंग चाँगु दुवाकोट झौखेल हुँदै सिधै काठमाडौ जोडने मार्ग निर्माण गर्ने छु । प्रस्तावित महादेव खोला बहुआयामिक ड्यामबाट चाँगु नगरबासीलाई खानेपानी समस्याबाट मुक्त बनाईनेछ ।
यस नगरमा नगरको निर्वाचन आफनो पोल्टामा पार्नका लागि तपाईको पार्टीले के कस्ता काम गरेको छ ?
– अहिलेको निर्वाचनलाई आफनो पोल्टामा पार्नका लागि नेपाली काँग्रेसले घरदैलो अभियान गरेको छ । टोलटोलमा सभा छलफल, बहस लगायतका अभिमुखिकरण कार्यक्रमका साथै मतदाता शिक्षाका बिषयमा आम नागरिकलाई सचेतना बृद्धि समेत गरेको छ । यससँगै नगर क्षेत्रभित्र  काँग्रेसले आफनो संगठन विस्तार र प्रचारप्रसारको कार्यलाई पनि उत्तिकै महत्वका साथ अघि बढाएको छ ।
मतदाताले काँग्रेसलाई मतदान किन गर्ने ?
– देशको एक मात्र लोकतान्त्रीक पार्टीका साथै देशको अभिभावकत्व ग्रहण गर्न सक्ने पार्टी नै नेपाली काँग्रेस हो । नेपालमा प्रजातन्त्रको स्थापनादेखि अहिले रहेको लोकतान्त्रिक गणतन्त्रको स्थापना र शान्ति प्रक्रिया स्थापनामा समेत अग्रणी भूमिका खेल्दै संविधान निर्माणमा समेत सक्रिय रुपमा नेतृत्वदायी भूमिका खेलेको पार्टी हो । संविधान कार्यान्वयनसँगै आम नेपालीको आर्थिक, सामाजिक, साँस्कृतिक राजनीतिक र शैक्षिक समृद्धिका लागि पनि यतिबेला नेपाली काँग्रेसलाई मतदान गर्न आबश्यक देखिएको छ । लोकतान्त्रिक संविधान कार्यान्यनका लागि समेत काँग्रेस लागि परेको छ ।
अन्त्यमा केही भन्नुछ ?
– सर्वप्रथम देशभर सहित चाँगु नारायण क्षेत्रमा हुन गैइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई मतदान गरी मलाई यस नगरको प्रमुख, उपप्रमुख तथा बडाका सवै पदमा विजयी गराउँन सबैमा अनुरोध गर्दछु ।  नेपाली काँग्रेसले आम नागरिक माझ गरेका सबैखाले प्रतिबद्धता गरेका कुरालाई कार्यान्वयन गर्नेतर्फ लागिपर्ने र यहाँको विकासका लागि कुनैपनि लाभ र स्वार्थमा नरहेर समग्र नगर र नगरबासीको समृद्धिका लागि अहोरात्र खट्ने वचन पनि दिन चाहान्छु । मेरो जित नै आम चाँगुबासीको जित भएकोले चाँगुबासीका सुख दुःखका हरेक क्षणमा साथ दिनेछु । दुई बर्ष अघि गएको भुकम्पबाट नगरबासीले धेरै कष्ट भोग्नु परेको छ । मैले यो समस्या समाधानका लगि सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा विभिन्न राहत तथा पुनः निर्माणका कार्यक्रम  सञ्चालन गर्ने विश्वास पनि दिलाउछु । यस नगरमा अबस्थित विश्व सम्पदासूचिमा रहेको चाँगुनारायण लगायतका मठमन्दिर को पुनः निर्माणका लागि लागि पर्ने छु । यहाँको लोकसंस्कृति, कला, संस्कृति  र सम्पदाको जर्गेना गर्दै समृद्ध नगर निर्माणको अभियान लागि पर्ने छु । यसैले नेपाली काँग्रेसको रुख चिन्हमा छाप लगाई मलाई यस नगरको प्रमुख पदमा विजय गराउन सबैमा अपिल पनि छ ।  प्रस्तावित १५ सय शैयाको वीर अस्पताल दुवकोटमा निर्माण हुन गैरहेको छ । यसका लागि आबश्यक भौतिक तथा अन्य पुर्वाधारको निर्माण गर्ने छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *