चाँगु नपालाई स्मार्ट सिटी बनाउने छु : खत्री

भक्तपुर न्यूज

१६ वैशाख २०७४ १२:४०

चाँगु नपालाई स्मार्ट सिटी बनाउने छु : खत्री

२०५२ सालदेखि नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीतिमा सक्रिय रहेका चाँगुनारायण ७ निवासी जीवन खत्री भक्तपुर काँग्रेसको राजनीतिक बृत्तमा चर्चित नाम हो । संघमा आबद्ध भएदेखिनै निरन्तर रुपमा काँग्रेसको राजनीतिमा सक्रिय रहेका खत्री नेपाली काँग्रेस भक्तपुर क्षेत्र नंम्बर १ का क्षेत्रीय सभापति रहेका काम गरिरहेका छन् । २०५५ सालमा भक्तपुर बहुमुखी क्याम्पसको स्वबीयू सदस्यका रहेका उनी सोही क्याम्पसको २०५७ मा स्वबीयू सभापति समेत भएका थिए । उनी नेविसंघ भक्तपुरको जिल्ला अध्यक्ष हुँदै संघकै केन्द्रीय सदस्य  पनि भैसकेका छन् । नेपाली काँग्रेस भक्तपुर क्षेत्र नंम्बर १ को क्षेत्रीय सचिव भएर २ बर्षे कार्यकाल कुशलतापूर्वक सञ्चालन गरेका खत्री हाल क्षेत्रीय सभापति हुन् । जिल्ला तहमै लोकप्रिय युवा नेता खत्री आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकाको नगरप्रमुख पदका आकांक्षी हुन् । नगर प्रमुख पदका आकांक्षी युवा नेता खत्रीसँग वर्तमान राजनीतिक अबस्था र स्थानीय तहको निर्वाचनका बारे कमल न्यौपानेले गरेको कुरोकानीको सारसंक्षेप ः
चाँगुनारायणमा चुनावी चहलपहल कस्तो छ ?
– यस क्षेत्रमा चुनावी माहोल बढेको छ । नागरिक यतिबेला उत्साहीत भएकाछन् । नेता तथा कार्यकर्ता मात्रै नभई आम मतदाता चुनावमा होमिएका छन् । चुनावी माहोलले यतिबेला चाँगुनारायण क्षेत्र काँग्रेसमय बनेका छ भने प्रचारप्रसारको अभियान तीब्र रुपमा चलिरहेको छ ।
यहाँ नगरप्रमुख पदका लागि आकांक्षीको संख्या कस्तो छ ?
– यस क्षेत्रमा अहिलेको चुनावमा १४ जनाले नगर प्रमुख पदका लागि दाबी गरेकाछन् । जसमा म पनि एक हुँ । धेरै आकांक्षीहरु भएको कारण पार्टी पंक्ति उम्मेदवार तोक्ने काममा अहिले लागि परेको छ ।
तपाँई आफूले टिकट पाउने सम्भावना कतिको देख्नु हुन्छ ?
– निश्चित रुपमा पार्टीले मलाई टिकट दिने कुरामा ढुक्क छु । किनकी म विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी संघको राजनीति गर्दै पार्टीको क्षेत्रीय सभापति समेत भैसकेको छु । मेरो राजनीतिक यात्रा र पार्टीमा निरन्तर रुपमा पार्टीका विभिन्न कार्यक्रम तथा आन्दोलननमा नेतृत्वदायि भूमिका निर्वाह समेत गरेको छु । पार्टीको कर्मठ, इमान्दार र निष्ठावान कार्यकर्ता भएको र पार्टीमा धेरै नै योगदान गरेको कारण पनि पार्टीले यो निर्वाचनमा मलाई नगरप्रमुखको टिकट दिनेमा ढुक्क रहेका छु ।
तपाईले निर्वाचन जित्नु भयो भने यो नगरको विकासका लागि  योजना के के छन् ?
– यो नगरको समृद्धिका लागि यहाँको समग्र विकासमा लागिपर्छु । चाँगु क्षेत्र देशकै नमूना धार्मिक पर्यटकिय क्षेत्र भएकोले पनि यहाँको धार्मिक तथा पर्यटन विकासलाई अझैं समृद्धितर्फ लैजाने विभिन्न योजनाहरु बनाएको छु । यो नगर नयाँ भएकोले यस नगरलाई स्मार्ट सिटीका लागि आबश्यक योजना तयार गर्नेछु । यहाँको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाई लगायतका क्षेत्रको विकासका साथै यहाँको पर्यावरणिय प्रदुर्षणलाई नियन्त्रण गर्नका लागि हरित नगरका रुपमा यस नगरलार्ई विकास गर्ने लगायतका योजनाहरु रहेकाछन् । यस नगरमा अव्यवस्थित रुपमा रहेका कलकारखाना, उद्योगधन्दालाई व्यवस्थित गरी यहाँको उत्पादनलाई बृद्धि गर्नुका साथै उत्पादीत बस्तुलाई गुणस्तरता प्रदान गर्न पनि सक्रिय रुपमा लाग्ने छु । यहाँको जल, जमिन र वनलाई यस क्षेत्रका स्थानियहरुको समुचित समान्नतर  प्रयोग गर्न पाउने व्यवस्थाका लागि आबश्यक पहल गर्नेछु । देशकै पर्यटकिय क्षेत्र नगरकोटलाई नमूना पर्यटकिय क्षेत्रका रुपमा घोषणा गरी विश्वजगतलाई नै यो नगरलाई नमूना नगरका रुपमा स्थापित गर्ने योजना पनि बनाएको छु ।
यस नगरमा नगरको निर्वाचन आफनो पोल्टामा पार्नका लागि तपाईको पार्टीले के कस्ता काम गरेको छ ?
– अहिलेको निर्वाचनलाई आफनो पोल्टामा पार्नका लागि नेपाली काँग्रेसले घरदैलो अभियान गरेको छ । टोलटोलमा सभा छलफल, बहस लगायतका अभिमुखिकरण कार्यक्रमका साथै मतदाता शिक्षाका बिषयमा आम नागरिकलाई सचेतना बृद्धि समेत गरेको छ । यससँगै नगर क्षेत्रभित्र  काँग्रेसले आफनो संगठन विस्तार र प्रचारप्रसारको कार्यलाई पनि उत्तिकै महत्वका साथ अघि बढाएको छ ।
मतदाताले काँग्रेसलाई मतदान किन गर्ने ?
– देशको एक मात्र लोकतान्त्रीक पार्टीका साथै देशको अभिभावकत्व ग्रहण गर्न सक्ने पार्टी नै नेपाली काँग्रेस हो । नेपालमा प्रजातन्त्रको स्थापनादेखि अहिले रहेको लोकतान्त्रीक गणतन्त्रको स्थापनासम्म अग्रणीभूमिका खेल्दै आएको देशको शान्ति प्रक्रिया स्थापनामा समेत अहमभूमिका खेल्दै संविधान निर्माणमा समेत सक्रिय रुपमा नेतृत्वदायि भूमिका खेलको पार्टी हो । निर्माण गरिएको नेपालको लोकतान्त्रीक संविधान कार्यान्यनका लागि समेत काँग्रेस लागि परेको छ । संविधान कार्यान्वयनसँगै आम नेपालीको आर्थिक, सामाजिक, साँस्कृतिक राजनीतिक र शैक्षिक समृद्धिका लागि पनि यतिबेला नेपाली काँग्रैसलाई मतदान गर्न आबश्यक देखिएको छ ।
अन्त्यमा केही भन्नुछ ?
– सर्वप्रथम देशभर सहित चाँगु नारायण क्षेत्रमा हुन गैइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई मतदान गरी मलाई यस नगरको प्रमुख पदमा विजयी गराउँन सबैमा अनुरोध गर्दछु ।  नेपाली काँग्रेसले आम नागरिक माझ गरेका सबैखाले प्रतिबद्धता गरेका कुरालाई कार्यान्वयन गर्नेतर्फ लागिपर्ने र यहाँको विकासका लागि कुनैपनि लाभ र स्वार्थमा नरहेर समग्र नगर र नगरबासीको समृद्धिका लागि अहोरात्र खट्ने वचन पनि दिन चाहान्छु । मेरो जित नै आम चाँगुबासीको जित भएकोले चाँगुबासीका सुख दुःखका हरेक क्षणमा साथ दिनेछु । दुई बर्ष अघि गएको भुकम्पबाट नगरबासीले धेरै कष्ट भोग्नु परेको छ । मैले यो समस्या समाधानका लगि सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा विभिन्न राहत तथा पुनः निर्माणका कार्यक्रम  सञ्चालन गर्ने विश्वास पनि दिलाउछु । यस नगरमा अबस्थित विश्व सम्पदासूचिमा रहेको चाँगुनारायण लगायतका मठमन्दिर को पुनः निर्माणका लागि लागि पर्ने छु । यहाँको लोकसंस्कृति, कला, संस्कृति  र सम्पदाको जर्गेना गर्दै समृद्ध नगर निर्माणको अभियान लागि पर्ने छु । यसैले नेपाली काँग्रेसको रुख चिन्हमा छाप लगाई मलाई यस नगरको प्रमुख पदमा विजय गराउन सबैको अपिल पनि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *