काठमाडौं । एभिसी सेन्ट्रल जोन च्याम्पियन महिला राष्ट्रिय भलिबल टोलीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गरेको छ । गत महिना बंगलादेशमा भएको सेन्ट्रल जोनमा नेपाली टोलीले लगातार दोस्रो पटक जितेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भलिबल टोलीका खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद र सम्मान पत्रले सम्मान गरे । उपाधि विजेता १२ जना खेलाडी जनही ५ लाख, २ जना प्रशिक्षक जनही ३ लाख र १ जना अफिसियल २ लाख नगदले पुरस्कृत भए ।
नेपालले बंगलादेशको ढाकामा पुस १३ गते फाइनलमा उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा सानदार जित निकाल्दै उपाधि रक्षा गर्न सफल भएको थियो । यसअघि नेपालले २०१९ मा माल्दिभ्सलाई हराउँदै एक सेट पनि नगुमाई उपाधि जितेको थियो ।
यसपटकको च्याम्पियनसिपमा श्रीलंका र उज्वेकिस्तान थपिदा नेपालले दुवै टोलीसँग समान २–२ सेट गरी ४ सेट गुमाउन पुगेको थियो । नेपालले १८ सेट आफ्नो पक्षमा पारेको थियो । पुरुषतर्फ नेपाल उज्वेकसस्तानसँग सोझो सेटमा पराजित हुँदै पदक विहीन बन्न पुगेको थियो ।
प्रकाशित मितिः २०७८ माघ २१ शुक्रबार
Comments