भक्तपुरको विश्व प्रसिद्ध पाँंचतले मन्दिर आइतबारबाट ३२० वर्षमा प्रवेश
भक्तपुर । भक्तपुरको विश्व प्रसिद्ध पाँंचतले मन्दिर आइतबारबाट ३२० वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा आज मन्दिरभित्र विशेष पूजाआजा गरिएको छ । साथै मन्दिरको टुप्पोमा लामो बाँंसमा कपडाको झन्डा फहराइएको छ । सेतो कपडामा रातो चन्द्रआकार भएको ठूलो झण्डा फहराइएको हो ।
मन्दिर स्थापनाको सम्झनामा प्रत्येक वर्ष आषाढ शुक्ल प्रतिपदाका दिन यसरी नै पूजाआजा गरी झन्डा फहराउने चलन रहिआएको छ ।
आजको दिन पूजामा बोका बली दिने परम्परा रहेता पनि कोभिड–१९ का कारण मन्दिरमा सामान्य पुजा गरि झण्डा फहराइ मनाइएको पुजारी पदम कर्माचार्यले जानकारी दिए ।
मन्दिरमा पूजा गर्न राजोपाध्याय, कर्माचार्य, जोशी र ताल्चाभडेल पुजारीहरुले पुजा गर्ने परम्परा रहिआएको छ् ।
पूजा सकेपछि भक्तपुर नगरको तुछमला टोलका अवालको टोलीले मन्दिरको टुप्पोमा पुगेर झन्डा फहराएका थिए । यसअघि उनीहरूले मन्दिर सफा गरेका थिए । मन्दिरको छानामा उम्रेका घाँंसपात उखेल्नेलगायत सरसफाइ गरी माथिल्लो तलाको गजुरमा झन्डा ठड्याई झन्डोतोलन गर्ने कार्य उनीहरूले नै गरेका हुन् ।
मन्दिरमा झण्डा राख्नको लागि तुछिमलाको अवालबाहेक अरुलाई मन्दिर माथि प्रवेश नदिने परम्परा चलिआएको छ ।
प्रत्येक बर्ष झै यो बर्ष पनि करिव एक दर्जन अवालहरु मन्दिरको माथि गएर गजुरमा झण्डा फहराएको थियो । सो झण्डा राख्नको लागि चार जना गजुरको चार कुनामा बसेर झण्डा फहराएका थिए ।
करिब २५र३० फिटको हाँगा सहितको बाँसमा लम्वाई ६६ ईन्च र चौडाई ४४ ईन्चको कपडाको झण्डा फहराइएको थियो । यस्तो ज्यान जोखिममा पारेर काम गर्नु पर्ने अवालहरुलाई भक्तपुर गुठी संस्थानले आर्थिक सहयोग गरिआएको छ ।
नेपाल सम्वत ८ सय २२ मा तत्कालिन भक्तपुरका राजा भूपतिन्द्र मल्लले सिद्ध अग्नी कोत्याहुती होम सु–सम्पन्न गरी श्री सिद्धिलक्ष्मी देवीलाई पाँंचतल्ले मन्दिरमा प्रतिस्थापना गरी झण्डा फहराइएको इतिहास छ । त्यही बेलादेखि नै प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा झण्डोत्तोलन गर्ने प्रचलन रही आएको छ ।
प्रकाशित मितिः २०७८ असार २७ आइतबार
