आजदेखि देशभर विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु

भक्तपुर न्यूज

१ असार २०७८ ३:४२

आजदेखि देशभर विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं । आजदेखि देशभर विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । सरकारले कोरोना महामारीकै बीच विद्यालय तहको नयाँ भर्ना र शैक्षिक सत्र आजदेखि देशभर सुरु हुन लागेको हो ।

कोरोनाका कारण गतवर्षदेखि नै समय तामिलका प्रभावित भएकाले दुई महिना ढिला गरी असार १ देखि शैक्षिक सत्र सुरु हुन लागेको हो ।

विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्मका विद्यार्थीको लागि मात्रै नयाँ शैक्षिक सत्र सुरु गरिन लागेको हो । कक्षा १० को एसईई परीक्षा पनि नहुने र आन्तरिक मूल्यांकनकै आधारमा नतिजा प्रकाशन गरिने भएको छ । कक्षा ११ को पठनपाठन भने भदौबाट सुरु हुँदै छ ।

कोरोना (कोभिड–१९) संक्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो सहज भएको छ । अनलाइन, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरणलाई वैकल्पिक विधिका रुपमा लिइएको छ ।

असार १५ सम्म विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरेर विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने जिम्मेवारी विद्यालयले पूरा गर्नुपर्नेछ । विद्यार्थीको अभिलेखीकरणपछि वैकल्पिक सिकाइ प्रणालीबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिइनेछ ।

यसअघि सरकारले जेठभित्र सबै कार्य पूरा गरी असार १ बाट नयाँ शैक्षिक सत्र प्रारम्भ गरिने भएकाले सोहीअनुसार तयारी गर्न सबै विद्यालयलाई निर्देशन गरेको थियो ।

प्रकाशित मितिः २०७८ असार ०१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *