नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्नेछ : गभर्नर पौडेल

भक्तपुर न्यूज

८ जेठ २०८२ १४:५८

नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्नेछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरूप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताएका छन् ।

बैङ्कको वालुवाटारस्थित केन्द्रीय कार्यालयमा आज पदभार गर्दै उनले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पारे । “वित्त नीतिबाट जे कुराहरु तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले सहयोग गर्छ”, उनले भने, “नियमन र सुपरीवेक्षण अर्को काम हो । धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्षमता बढाउनुपर्नेछ । यसका लागि राष्ट्र बैंकको क्षमता बढाउनुपर्नेछ ।”

बैंक तथा वित्तीय संस्थामा रहेको नागरिकको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई पनि राष्ट्र बैंकले प्राथमिकतामा राख्ने उनले बताए । त्यस्तै, राष्ट्र बैंकले विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरेर मात्रै निर्णय लिने उनको भनाइ छ । “नीति निर्माण भनेको संवादमा आधारित हुनुपर्छ । म आफैँ मात्र कुनै प्रस्ताव ल्याएर यसै गरौँ भन्ने पक्षमा छैन । सबै सरोकारवाला निकायहरुसँग छलफल गरेर जान्छौँ”, गभर्नर पौडेलले भने ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृतको विषय राष्ट्र बैंकको आन्तरिक मामिला भएको धारणा पनि उनले व्यक्त गरे । नवनियुक्त गभर्नर डा. पौडेलले रु ५०० र एक हजार दरका नोट छपाइसँग सम्बन्धित निर्णयमा पदबहाली गर्दै हस्ताक्षर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *