टाइगर कप भलिबलः महिलातर्फ उपाधि आयोजक टोलीले जित्यो
काठमाडौं । आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ ।
पोखरा रंगशालामा आज दिउँसो सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोलीले उपाधि जितेको हो ।
पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौ सेट धकेलिएको थियो ।
पाँचौं सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकाल्दै उपाधि चुम्न सफल रह्यो ।
पहिलोपटक सहभागिता जनाएको आयोजक टोलीले पहिलो पटकमै उपाधि चुमेको हो । उपाधि जितेको टाइगर ग्रुपले पाँच लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्यो । एपिएफले दुई लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।