आफ्नो दीक्षान्त समारोहको प्रणाली फर्ने तयारीमा त्रिभुवन विश्वविद्यालय
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो दीक्षान्त समारोहको प्रणाली फर्ने तयारी गरेको छ। त्रिविमा पुस १३ मा सम्पन्न ५०औं दीक्षान्त समारोहमा १४ हजार तीन सय आठ विद्यार्थी दशरथ रंगशालामा उपस्थित भई दीक्षित भए भने विद्यार्थीका अभिभावकसमेत गरी करिब ३० हजारको उपस्थितिले भीड व्यवस्थापन गर्न आयोजकलाई हम्मे परेको थियो।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले त्रिविमा दीक्षित हुने विद्यार्थीको संख्या बढ्दै गएपछि समारोह प्रणाली परिवर्तन गर्न त्रिविले गृहकार्य सुरु गरेको बताए। उपकुलपति बरालका अनुसार स्नातकदेखि विद्यावारिधिसम्म उत्तीर्ण हुने विद्यार्थी ०८० असार १ देखि ०८१ जेठसम्म सबै परीक्षा पास भई ट्रान्सक्रिप्ट प्राप्त विद्यार्थी ७४ हजार एक सय ४९ छन्। यस दीक्षान्त समारोहमा १४ हजार तीन सय आठजना मात्र उपस्थित हुने तथ्यांक छ।
यसपटकको दीक्षान्त समारोहमा ठाउँ अभाव र व्यवस्थापनमा चुनौती थपिएपछि विश्वविद्यालयले अगामी समारोहको विकल्प खोजेको उनको दाबी छ। ‘दीक्षान्तमा विद्यार्थी र अभिभावकको उपस्थिति बढ्न थालेपछि स्थान अभाव र ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ’, उपकुलपति बरालले भने, ‘यसकारण अब त्रिविले दीक्षान्तको मोडालिटी नै परिवर्तन गर्न लागेको हो। अब ६/६ महिना वा संकायगत रूपमा सुविधाजनक तरिकाले दीक्षान्त समारोह गर्ने नीति बनाउने छौं।’
पदक पाउने छात्रा बढी
यसपटक त्रिविले कुल २१ पदक वितरण गरेको छ, जसमध्ये १८ वटा पदक महिलाले प्राप्त गरेका छन्। पदक पाउनेमध्ये श्रीज्या काफ्लेले तीन पदक प्राप्त गरेकी छन्। श्रीज्याले अर्थशास्त्र केन्द्रीय विभाग कीर्तिपुरबाट एमए अर्थशास्त्र विषयमा ३.६७ अंक प्राप्त गरी सर्वप्रथम स्थान हासिल गरी तारापद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्दराज ढुंगेल स्मृति पदक प्राप्त गरेकी छन्।
यसैगरी रेविका भण्डारीले काठमाडौं मोडेल कलेज बागबजारबाट एमबिएस परीक्षामा महिलामध्ये ३.९० अंक प्राप्त गरी सर्वप्रथम स्थान हासिल गरी ने.बै.लि. सरदार गुज्जमान सिं स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार गरी दुई पदक प्राप्त गरेकी छन्। सुदीक्षा घिमिरेले रत्नराज्य लक्ष्मी क्याम्पसबाट एमए अंग्रेजी साहित्यमा ३.८८ अंक प्राप्त गरी नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा. मोहनप्रसाद लाखे स्वर्ण पदक गरी दुई पदक प्राप्त गरेकी छन्।
बिमार त्रिविलाई व्यवस्थापनमै चुनौती: उपकुलपति बराल
त्रिवि पुनः धर्ना र तालाबन्दीको चपेटामा परेको छ। थरीथरीका संघसंगठनका नेताले विभिन्न माग राखी विभिन्न निकायमा तालाबन्दी र धर्नामा बसेर त्रिविलाई बिमार बनाइदिएको उपकुलपति बरालको भनाइ छ।
उपकुलपति कार्यालयअगाडि विद्यार्थीको धर्ना र घेराउका कारण उपकुलपति बराल आफ्नो कार्यालय प्रवेश नगरेको २० दिन भयो। कतिसम्म भने उनले ५०औं दीक्षान्त समारोहका विद्यार्थीले प्राप्त गर्ने शैक्षिक योग्यता प्रमाणपत्रमा घरबाटै हस्ताक्षर गरी पठाएका थिए। थरीथरी धर्ना, घेराउ र तालाबन्दीले त्रिविका दैनिक कामकारबाही ठप्प भएका छन्। यसकारण उपकुलपति बराललाई कसैले ‘सर, सञ्चै हुुनुहुन्छ?’ भनी सोधेमा उनको जवाफ यस्तो हुन्छ, ‘त्रिवि बिमार छ, म कसरी सञ्चो हुन सक्छु? त्रिविलाई सञ्चो बनाइदिनुस्।’
हाल त्रिवि सामान्य प्रशासन कार्यालय, प्रिन्सिपल कार्यालय र स्ववियु कार्यालयमा पार्किङ विवादलाई लिएर पाँच विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् भने भौतिकशास्त्र विभागमा शैक्षिक गतिविधिको विषयलाई लिएर विद्यार्थीले तालाबन्दी गरेका छन्।
यसैगरी त्रिविमा हालै भएको डिन र क्याम्पस प्रमुखहरूको नियुक्तिलाई लिएर उपकुलपति कार्यालयअगाडि दिनहुँ विद्यार्थीको धर्ना कार्यक्रम भइरहेका छन्। ‘म चार वर्षका लागि त्रिवि उपकुलपति नियुक्ति हुँदा आफ्नो सोचपत्रका आधारमा भएको हुँ, तर अहिले मलाई आफ्नो कार्यालयमा बसेर काम गर्ने वातावरण छैन’, उपकुलपति बराल दुखेसो गर्छन्, ‘विद्यार्थीको काम अध्ययन गर्ने र विश्वविद्यालयको शैक्षिक क्रियाकलाप सुधार तथा विद्यार्थीका हितमा हुने हो, तर यहाँ त भागबन्डा र नियुक्तिको विषय लिएर पो आन्दोलन हुने रहेछ।’
उता विद्यार्थीहरूले भने त्रिवि पदाधिकारीले विश्वविद्यालयमा डिन र कलेज प्रमुखहरूको नियुक्ति कार्यविधिमा गरिरहेकाले आफूहरूको कुनै सरोकार नभई नितान्त शैक्षिक सुधारको मुद्दासँग जोडिएर आन्दोलन गरेको स्पष्ट पारेका छन्।
धर्नामा बसेका त्रिवि स्ववियु सचिव सिद्धान्त भट्टले त्रिविको संरचनागत सुधार र शैक्षिक सुधारको ३५ बुँदे माग राखेर आफूहरू धर्नामा बसे पनि त्रिवि पदाधिकारीले कुनै सुनुवाइ नगरेको बताए। विश्वविद्यालयका विद्यार्थी र विभागलाई अनुसन्धानसँग जोड्नुपर्ने, त्रिवि सेवा आयोग वार्षिक रूपमा खुल्नुपर्ने, छात्रवृत्ति वृद्धि गरेर ४० प्रतिशत पुर्याउनुपर्ने, छात्रावास व्यवस्थित गरिनुपर्ने लगायतका माग राखी आन्दोलनमा उत्रेको उनले बताए। उनले थपे, ‘त्रिवि पदाधिकारीले विद्यार्थीको माग सम्बोधन नगरेसम्म धर्ना जारी हुन्छ। विद्यार्थीहरू मंसिर २६ देखि धर्नामा छन्।’
माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनका त्रिवि जिल्ला अध्यक्ष दिनेश ऐरीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा मंसिर १५ देखि सञ्चालन भएको नेपाल प्रिमियर लिग एनपिएलमा सवारी साधनको व्यवस्थित रूपमा निःशुल्क पार्किङका लागि क्यानले पार्किङ जिम्मा लिए पनि त्रिविको साझा संगठन स्ववियुले हस्तक्षेप गरी अवैधानिक रूपमा पार्किङका नाममा उद्घाटनका दिन भौचर काटी रकम हिनामिना गरेको बताए।
‘अवैधानिक तवरले उद्घाटनकै दिन स्ववियुमार्फत उठाएको पार्किङ शुल्कको पारदर्शिता र अनियमितता छानबिनका लागि तीन दिनभित्र समिति गठन गरी उठेको शुल्क सार्वजनिक गर्नुपर्ने र सो रकम विश्वविद्यालयलाई हस्तान्तरण गर्नुपर्ने हाम्रो माग हो’, अध्यक्ष ऐरीले भने, ‘उक्त गलत कार्य गर्ने–गराउनेमाथि आवश्यक कारबाही हुनुपर्ने माग हो।’
तालाबन्दी गर्ने पाँच विद्यार्थी संगठनहरू अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेपाल समाजवादी विद्यार्थी युनियन, अखिल (समाजवादी) र अखिल छैटौं छन्।