तिहारको भाइमसला: के खाँदा के फाइदा ?

भक्तपुर न्यूज

९ कार्तिक २०८१ १३:००

तिहारको भाइमसला: के खाँदा के फाइदा ?

काठमाडौं । तिहारमा भाइमसलाको रुपमा ड्राइ फ्रुट्स अर्थात् मसला मिठो नलाग्ने व्यक्तिहरु सायदै कोही होला । मसला भन्नासाथ काजु, किसमिस र पेस्ताको सम्झना आउन थाल्छ । विशेषगरी यी मसलाहरु धेरैका लागि प्रिय हुन्छ । अहिले हामी तिहारको नजिक छौं । यो समयमा मसलाको छुट्टै महत्व हुन्छ ।

विशेषतः भाइटिकाको दिनमा दिदीबहिनीले दाजुभाइलाई टिका लगाइसकेपछि भाइमसला उपहार स्वरुप दिने चलन छ । खासगरी काजु, किसमिस, बदाम, पेस्ता, नरिवल, छोकडा, ल्वाङ, सुकुमेल, सुपारी, मखना लगायत मसलाहरु भाइमसलाका रुपमा प्रयोग गरिन्छन् । दाजुभाइलाई दिइने यस्ता मसलाहरु स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छन् । खाँदा पनि निकै स्वादिष्ट हुने यस्ता मसलाहरुको प्रयोगले शारीरिक तथा बौद्धिक विकासमा निकै सहयोग पुग्छ । साथै रोगनिरोधक क्षमता बढ्छ ।

त्यसो त अहिले बजारमा ‘रेडिमेड’ भाइमसलाका प्याकेटहरु पनि पाइन्छन् । तर, चिकित्सकहरु भने बजारका रेडिमेड भाइ मसलाका प्याकेटहरु किन्नुभन्दा ‘ड्राइ फ्रुट्स’ हरु किनेर आफैं तयार गर्न सुझाव दिन्छन् । आफ्ना दाजु–भाइको दीर्घ आयुका लागि दिदी–बहिनीहरुले स्वास्थ्यलाई बढीभन्दा बढी फाइदा पुर्‍याउने सुख्खा फलहरु किनेर दिन चिकित्सकको सुझाव छ ।

ओखर
तिहारमा विशेष महत्वका साथ प्रयोग हुने ओखर निकै लाभदायक मानिन्छ । ओखरको आकारलाई ध्यान दिएर हेर्ने हो भने यो ठीक मनुष्यको मस्तिष्कको आकार जस्तो हुन्छ । ओखरको नियमित सेवनले मस्तिष्कलाई फाइदा पुग्छ । यसको दिनहुँ सेवन गर्ने व्यक्तिको दिमाग तेज चल्छ

यसले कपाल तथा छालासम्बन्धी समस्याबाट छुटकारा पाउन समेत मद्दत पुर्‍याउँछ । यसको नियमित सेवनले कब्जियत समस्याबाट समेत मुक्ति मिल्छ ।

बदाम
बदाम एउटा त्यस्तो मसला हो, जसलाई विशेषताहरुको खानी मानिन्छ । भाइमसलामा राखिने बदाम पनि निकै स्वास्थ्यवर्द्धक मानिन्छ । बदाम प्रोटिनको स्रोत पनि मानिन्छ । यसको सेवनले शरीरमा रक्तकोष तथा हेमोग्लोबिनको विकासमा निकै सहयोग पुग्छ । बदामको नियमित प्रयोग गर्नाले सुगर रोगीहरुलाई निकै फाइदा पुग्छ ।

खानापछि बढ्ने सुगरको मात्रा यसको प्रयोगले कमी आउँछ । मुटुरोग रोकथाममा पनि यसले सघाउ पुर्‍याउँछ । स्मरण शक्ति बढाउनुका साथै बदामले मष्तिष्कको विकासमा समेत टेवा पुर्‍याउँछ ।

किसमिस
किसमिसलाई क्याल्सियम र फाइबरको एउटा राम्रो स्रोत मानिन्छ । यसलाई हरेक दिन सेवन गर्नाले शरीरको हड्डिहरु बलियो हुनुको साथै यसको नियमित सेवनले शरीरमा रगतको कमी हुन पाउँदैन । यसबाहेक किससिम खानाले एनिमिया, दाँतमा हुने क्याविटी र किड्नीको पत्थरी पनि हुँदैन । यसमा पाइने ग्लुकोजले शरीरलाई ऊर्जा समेत प्रदान गर्छ ।

काजु
काजु मन नपर्ने व्यक्ति सायद कमै होलान् । काजु बच्चादेखि बृद्धसम्म सबैलाई उस्तै प्रिय लाग्छ । काजु हल्का गुलियो स्वादको हुन्छ । यसमा भिटामिन ई पर्याप्त मात्रामा पाइन्छ । चिकित्सककाअनुसार काजुमा प्राप्त हुने एन्टि–एजिङ तत्वले तपाईंको छालाको सुन्दरता कायम गर्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनबाट छुटकारा पाउन सकिन्छ । अर्थात् तपाइँको अनुहार उमेरभन्दा भर्खरको जस्तो देखाउन मद्दत मिल्छ ।

यसमा पाइने तत्वले मुटुलाई समेत स्वस्थ्य बनाउन मद्दत पुर्‍याउँछ । मांसपेशीलाई बलियो बनाउनुका साथै डायबिटिज समेत नियन्त्रणमा मद्दत गर्छ। काजुमा कार्बोहाइड्रेड, प्रोटिन्, आइरन लगायत तत्व पाइन्छ ।

पेस्ता
पेस्ता हाम्रो स्वास्थको लागि अति नै लाभदायक हुन्छ । यसमा म्याग्नेसियम, कपर, रेशा, फस्फोरस र भिटामिन बी जस्ता तत्वहरु पर्याप्त मात्रामा पाइन्छ । पेस्ताले शरीरको कोलेस्ट्रोललाई कम गरेर मुटुसँग सम्बन्धित रोगहरुबाट तपाईको रक्षा गर्छ ।

साथै पेस्तामा भिटामिन ई पाइन्छ । यसले छालालाई युभी ड्यामेजबाट सुरक्षा प्रदान गर्दछ । त्यस्तै छालाको क्यान्सर जोखिम कम गराउँछ । उमेर अगाडि नै देखिने चाउरीपनमा समेत पेस्ताको सेवनबाट राहत मिल्छ। सन्तुलित रक्त सञ्चालन प्रणालीका लागि उपयुक्त मानिने पेस्ताले हृदयघातजस्ता रोगबाट समेत बचाउँछ ।

नरिवल
भाइमसलामा नरिवलको अनिवार्य प्रयोग गरिन्छ । नरिवल स्वास्थयका दृष्टिले अत्ति उपयोगी फल हो ।

खाना नपच्ने, पिसापसम्बन्धी रोग, रक्त विकारलगायत समस्याका लागि यो उपयुक्त मानिन्छ । नरिवलमा भिटामिन ए, बी, सीका साथै क्याल्सियम, प्रोटिन र फलाम पाइन्छ ।

छोकडा
छोकडाको सेवनले शरीरमा धेरै फाइदा हुन्छ । यसको नियमित सेवनले पेट सम्बन्धी समस्याहरु कम हुन्छ । त्यस्तै खोकी लाग्दा पनि यसलाई हल्का पोलेर सेवन गर्नाले खोकी निको हुन्छ ।

छोकडामा आइरन, मिनरल, क्याल्सियम, फस्फोरस लगायत तत्वहरु प्रचुर मात्रामा पाइन्छ । दैनिक ५ वटा छोकडा खाँदा शरीरका लागि अचुक फाइदा हुने चिकित्सकहरु बताउँछन् । छोकडाको प्रयोगले स्वास्थ्य तथा सुन्दर बन्न सहयोग पुग्छ ।

मखना
मखनाको सेवनले शरीरमा धेरै फाइदाहरु हुन्छन् । मखना सेवन गर्नाले तनाव कम हुन्छ साथै राम्रो निद्रा पनि लाग्छ । राति सुत्नु अगाडि मखनालाई दुधसँग सेवन गर्नाले निद्रा नलाग्ने समस्या कम हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *