भक्तपुर अस्पताल बन्यो बागमती प्रदेशकै उत्कृष्ट
काठमाडौं । बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको छ । बागमती प्रदेश मातहत रहेका प्रादेशिक अस्पतालहरुमध्ये सबैभन्दा बढी अंक ल्याउँदै भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको हो ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरुको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो ।
यसैगरी सिन्धुली जिल्लाको सिन्धुली अस्पताल प्रदेशमा दोस्रो हुन सफल भएको छ । यस्तै प्रदेशमा धादिङ अस्पताल तेस्रो भएको छ ।
जनस्वास्थ्य कार्यालय अन्तर्गत भएको मुल्यांकनका आधारमा जनस्वास्थ्य कार्यालय ललितपुर उत्कृष्ट भएको छ । जनस्वास्थ्य कार्यालय चितवन दोस्रो र जनस्वास्थ्य कार्यालय मकवानपुर तेस्रो स्थानमा रहेको छ ।
यसैगरी, आयुर्वेदिक तथा वैकल्पिक चिकित्सातर्फ आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय काठमाडौं पहिलो, आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय मकवानपुर दोस्रो र आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय भक्तपुर तेस्रो स्थानमा रहेको छ ।
उत्कृष्ट भएका अस्पताल, जनस्वास्थ्य कार्यलय र आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालयहरुलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ र प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालगायतले सम्मान पत्र प्रदान गरेका थिए ।