राष्ट्रिय खेलाडीको गंगालालमा निःशुल्क स्वास्थ्य परीक्षण सुरु
काठमाडौं । राष्ट्रिय टिममा रहेका खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरुको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता मंगलबार गरिएको हो ।
पेरिसमा सम्पन्न पारालिम्पिक कांस्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर निःशुल्क परीक्षणको सुरुवात गरिएको हो ।
गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितीमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद राखेप र अस्पतालकाबीच खेलाडीको मुटु परीक्षण हरेक वर्ष निःशुल्क मुटु परीक्षणसम्बन्धी सम्झौता गरिएको हो । सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै स्रोतबाट गर्नेछ ।
सम्झौता हरेक वर्ष नवीकरण गर्ने व्यवस्था गरिएको छ । घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७ खेलाडी लाभान्वित हुने छन् ।
तस्बिर : स्वास्थ्यमन्त्रीको सचिवालय