लेबनानमा नागरिकको मृत्यु र विस्थापन हुने क्रम बढेकोमा राष्ट्रसङ्घको चिन्ता
काठमाडौं । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए)ले लेबनान र इजरायली अस्तित्वलाई छुट्याउने ‘ब्लू लाइन’मा नागरिकको मृत्यु र बढ्दो विस्थापनप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। गत महिनामा नागरिक मृत्युको सङ्ख्या २० प्रतिशतले बढेको तथा सन् २०२३ को अक्टोबरदेखि अधिकांश महिला र बालबालिकासहित १२० जनाको मृत्यु भएको राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ ।
कार्यालयले राष्ट्रङ्घीय बाल कोष (युनिसेफ)लाई उद्धृत गर्दै १२ वटाभन्दा बढी पानी मुहान क्षतिग्रस्त भएको र हाल चारवटा मुहानबाट सेवा नजोडिँदा दुई लाखभन्दा बढी मानिसहरू सुरक्षित पिउने पानीको पहुँचबिहीन भएको जानकारी दिँदै द्वन्द्वरत पक्षले नागरिक पूर्वाधारलाई बारम्बार लक्षित गरेको औँल्याएको छ ।
यसैगरी विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले हालै ३२ टन आपतकालीन सर्जिकल किटका साथै औषधिहरू वितरण गरी लेबनानी सरकारको समर्थनमा कार्यालय र साझेदारहरूले राहत प्रयास जारी राखेको कार्यालयले पुष्टि गरेको छ ।
आसिएचलेले ब्लू लाइनको दुबै पक्षमा विस्थापन जारी रहेको बताउँदै लेबनानको विस्थापन सन् २०२४ को जुलाईदेखि लगभग चार प्रतिशतले बढेको जनाएको छ । अक्टोबर २०२३ देखि विस्थापित हुने मानिसको सङ्ख्या एक लाख दुई हजार पुगेको पाइएको छ ।
ओसिएएचएले सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानूनका दायित्वहरूको सम्मान गर्न आग्रह गर्दै, नागरिक तथा नागरिक पूर्वाधारको रक्षा गर्नुपर्नेमा जोड दिएको छ । इजरायली समूहहरूले दक्षिणी लेबनानका शहर र गाउँहरूमा हवाई आक्रमण तथा बमबारी बढाउँदा कैयौँ नागरिकको मृत्यु र घाइते हुन पुगेका छन् भने सयौं परिवारहरू घर छोड्न बाध्य भएका छन् ।