‘द भ्वाइस किड्स’ सिजन ३ मा ८ जना फाइनलिस्ट छनोट
काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ मा फाइनलिस्ट छनोट भएका छन्। शनिबार भएको सेमिफाइनलपछि ८ जना फाइनलिस्ट छनोट भएका हुन्। चारजना कोचबाट दुई–दुई जना फाइनलमा पुगेका छन्।
कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा शेर्पा फाइनलमा पुगे भने कोच मिलन नेवारबाट समीक्षा दाहाल र रिन्जिन डोल्मा लामा फाइनलमा प्रवेश गरे। त्यस्तै, कोच छेवाङ लामाबाट द्धितिका प्रधान र छेसाङ तामाङ फाइनलमा पुगे। अर्की कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा फाइनलिस्ट घोषित भएका छन्।
प्रतियोगिताको फिनाले आगामी शनिबार हुँदैछ। जसमा आठजना प्रतिभामध्येबाट एकजनाले टाइटल जित्नेछन्। शोका निर्देशक लक्ष्मण पौडेलका अनुसार शनिबार ७ बजेसम्मका लागि भोटिङ खुला गरिएको छ। ‘द भ्वाइस किड्स’ मा यसपटक झण्डै १७ हजार बालप्रतिभा डिजिटल अडिसनमा सहभागी थिए।
त्यसबाट विभिन्न चरण पार गर्दै यो सिजन फाइनलसम्म आइपुगेको हो। शोमा ६ देखि १४ वर्षभित्रका बालबालिका सहभागी हुँदै आएका छन्। शो हिमालय टेलिभिजन र ‘द भ्वाइस अफ नेपाल’ को युट्युबमा प्रसारणमा आउने गरेको छ।