इजरायलले गरेको हवाई आक्रमणको अमेरिकी उपराष्ट्रपति ह्यारिसले गरिन् निन्दा
काठमाडौं । शनिबार गाजाको एक विद्यालयमा दर्जनौँ सर्वसाधारणको मृत्यु हुने गरी इजरायलले गरेको हवाई हमलाको अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले निन्दा गरेकी छिन् । विस्थापित प्यालेस्टिनीहरूलाई आश्रय दिइरहेको विद्यालयमा भएको सो हमलामा कम्तीमा ७० जनाको ज्यान गएको थियो । साथै उनले बन्दीहरूलाई रिहाई र युद्धविरामको माग पनि दोहोर्याएकी छन् ।
अल–ताबाइन स्कूल हमास र इस्लामिक जिहाद सेनाको सक्रिय केन्द्र रहेको इजरायली सेनाका प्रवक्ताले भनेका छन् । तर हमासले भने यो कुरालाई अस्वीकार गर्दै आएको छ । इजरायलसँग हमासमाथि आक्रमण गर्ने अधिकार रहेको तर सर्वसाधारणको मृत्यु नहोस् भन्ने सुनिश्चित गर्ने महत्त्वपूर्ण जिम्मेवारी पनि रहेको ह्यारिसले बताएकी छिन् । आगामी नोभेम्बर ५ मा अमेरिकामा हुन लागेको राष्ट्रपति निर्वाचनमा ह्यारिस डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार हुन् ।
शनिबार भएको हवाई हमलाको पश्चिमी देशका साथै मध्य पूर्वमा इजिप्ट समेत कयौँ देशले आलोचना गरेका छन् । सो आक्रमणमा कम्तीमा १९ जना हमास र इस्लामिक जिहादी आतङ्कवादीको मृत्यु भएको इजरायलको रक्षा बल (आईडीएफ) र इजरायली सुरक्षा एजेन्सीले भनेको छ । यद्यपि, सो आक्रमणमा इस्लामिक जिहादको कमान्डरको निधन भए नभएको चाँहि स्पष्ट भइनसकेको आईडीएफले बताएको छ ।