चीनमा प्रतिघण्टा १००० किमी गुड्ने रेलको सफल परीक्षण
काठमाडौं । चीनको नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ ।
यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान लिमिटेड र साङजीसँग मिलेर रेलको परीक्षण गरेको हो । यसको नतिजाले रेलको नियन्त्रण प्रणाली, स्थिर सस्पेन्सन, सुरक्षित रोक्ने प्रणाली सफल भएको चीनको सरकारी सञ्चार माध्यम सीजीटीएनले जनाएको छ ।
यो रेल म्याग्लेभ प्रविधि (चुम्बकीय) शक्तिका कारण चल्छ । म्याग्लेभ प्रविधिले गर्दा रेल चुम्बकको शक्तिले जमिनमा बनाइएको ट्रयाकमाथि गुड्छ । परीक्षणमा उच्च गति र सस्पेन्सन उचाइ एकनासको रहेको रिपोर्ट आएको छ । रेलका सबै प्रणालीले सामान्य रूपमा काम गरेको र सैद्धान्तिक रूपमा तयार पारिएको आकलन अनुसार काम गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।
परीक्षणले लामो दूरीको तय र मर्मत, हावाको चाप कम भएको क्षेत्रमा प्रणालीबीचको समन्वय, नेभिगेसन नियन्त्रण र अन्य प्रमुख प्रविधिको प्रदर्शनलाई पनि सफल प्रमाणित गरेको छ । यूएचएस म्याग्लेभ यातायात प्रणालीले याङग्वयोमा सन् २०२२ अप्रिलमा रेलको निर्माण सुरु गरेको थियो ।
यसमा एरोस्पेस प्रविधि र रेलवे यातायात प्रविधिलाई जोडेर उच्च गतिमा गुड्न सक्ने बनाइएको छ । भविष्यमा यो प्रणाली चीनको ठूला शहरहरू बीचको यातायातका रूपमा प्रयोग गर्न सकिने बताइएको छ । जसले बेइजिङदेखि सांघाईको यात्रा लगभग डेढ घण्टामा गर्न सक्छ ।