सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक
काठमाडौं । सत्य घटनामा आधारित रहेर निर्माण गरिएको फिल्म ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक गरिएको छ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा विभिन्न समय र स्थानमा भएका एसिड आक्रमणका घटनामा परेका पीडितहरूको कथा प्रस्तुत गरिएको छ। उनीहरूको पीडा र संघर्षलाई मर्मस्पर्शी रूपमा देखाइएको छ।
एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनुपर्ने मागसहित भएका प्रदर्शनलाई पनि देखाइएको छ। नेपालमा एसिड बिक्री वितरणमा प्रतिबन्ध लगाउनुपर्ने आवाज फिल्मले उठाएको छ। यो फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अतिथि भूमिकामा अभिनय गरेका छन्।
अभिनेता रमित ढुंगानाले फिल्मको निर्माण एवं निर्देशन गरेका हुन्। रमित ढुंगाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्ममा निरज कंडेलको छायांकन, बनिश शाह र सन्देश शाहको सम्पादन छ। फिल्म भदौ ७ गतेदेखि प्रदर्शनमा आउँदैछ। निर्माता एवं निर्देशक ढुंगानाले ‘नमेटिने घाउ’ एउटा फिल्म मात्र नभएर अभियान पनि भएको बताए।