प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त

भक्तपुर न्यूज

२८ असार २०८१ ११:३७

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छन् । शुक्रबार प्रतिनिधि सभामा लिएको पाँचौँ विश्वासको मत नपाएसँगै उनी स्वत: पदमुक्त भएका हुन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउँ भनि राखेको प्रस्तावको पक्षमा ६३ सांसदले मात्रै समर्थन जनाए ।

यस्तै १९४ सांसद प्रस्तावको विपक्षमा उभिए भने तटस्थमा १ मत पर्‍यो । मत विभाजन प्रक्रियामा २५८ सांसदको सहभागिता रहेको थियो । प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । संसद्का दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले नयाँ सरकार गठन गर्ने सहमति गरिसकेका छन् ।

सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दैछन् । सरकार संविधानको कुन धाराअन्तर्गत बन्छ भन्नेबारे भने जानकारहरूकै मत विभाजित छ । कतिपयले संविधानको धारा ७६ को (२) अनुसार नै बन्ने बताएका छन् भने कतिपय अब (३) अनुसारको सरकार बन्ने मत राख्छन् । प्रचण्ड भने (२) अनुसार बनेका प्रधानमन्त्री हुन् ।

यता कांग्रेस-एमाले सांसदहरू भने दुईतिहाइ हस्ताक्षर सङ्कलन गरेर बसेका छन् । उनीहरू दुईतिहाइ हस्ताक्षरसहित (२) अनुसारकै सरकार गठनको माग गर्दै शीतल निवास जाने तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *