रेड एडभाइजरी जारी गरेका स्थानहरूमा रात्रिकालीन सवारी चलाउन रोक

भक्तपुर न्यूज

२८ असार २०८१ १०:१०

रेड एडभाइजरी जारी गरेका स्थानहरूमा रात्रिकालीन सवारी चलाउन रोक

काठमाडौं । गृह मन्त्रालयले उच्च जोखिमको सूचना जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नदिने निर्णय गरेको छ ।

शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत्‌तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय गरेको महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले जानकारी दिए ।

यसको कार्यतालिका यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने निर्णय बैठकमा भएको छ । बैठकमा सुरुमा गृहले बर्खायामभर रात्रिकालीन सवारी नचलाउने प्रस्ताव गरे पनि यातायात व्यवसायीले प्रस्ताव वैज्ञानिक नभएको बताए ।

बैठकले अबदेखि लामो तथा मध्यम दूरीमा यात्रा गर्दा टिकट अनिवार्य गर्ने निर्णय गरेको छ । पहिरो जाने तथा डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने निर्णयस पनि बैठकले गरेको छ ।

यातायात व्यवसायी एवं यात्रु तथा चालकले सडक अवरुद्ध भएका स्थानहरूको जानकारी लिई त्यस स्थानमा पुग्नु अगावै सुरक्षित एवं खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका स्थानमा सवारी रोक्नुपर्ने निर्णय गरिएको भूसालले बताए ।

कान्ति लोकपथ लगायतका ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गहरूमा पटकपटक पटके परमिट काटी ठूला बस ट्रक लगायतका सवारी साधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने निर्णय भएको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *