विश्वासको मत माग्दै संसदमा के भने प्रचण्डले, हेर्नुहोस् पूर्णपाठ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी आन्दोलनको भावुक बहकाउमा नै आफूले नेकपा एमालेसँग गठबन्धन गरेको बताएका छन् । तर, आफू एमाले अध्यक्ष केपी शर्मा ओलीको लामालामा मीठा र भरोसापूर्ण संवादहरूबाट अल्मल्याइएको सुनाए ।
प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई धोकाबाट बच्न सुझाव पनि दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई मिठो बोलेर नराम्रो धोका दिएको बताए ।
‘नयाँ उदाएका शक्तिहरू पनि सरकारमा आएपछि तुलनात्मक रूपमा सकारात्मक वातावरण बन्यो पनि । जनतामा आशा पनि जाग्यो । तर, जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र थियो भन्ने थाहा पाउन म ढिलो भएँ,’ उनले भने,‘केही मान्छेहरू कहिल्यै कुण्ठा र प्रतिशोधबाट निस्किन सक्दैनन् भनेर मैले हिसाब गरिनँ, समयले मान्छेलाई सुधार्छ भन्ने विश्वास गरेँ, स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ ।’
यसको नैतिक जिम्मेवारी लिन तयार रहेको भन्दै उनले नयाँ सत्ता समीकरण बनाइरहेकाहरूलाई आपसी अनुभव अप्रिय नहोस् भन्ने शुभकामना पनि दिए । ‘कसैमाथि धोका नहोस् । मेरो शुभकामना छ,’ उनले भने,‘ तपाईंहरू मिल्नुस्,केही छैन । पहिलोपटक मिल्नुभएको पनि होइन,अन्तिमपटक मिल्नुहुने पनि होइन ।’
क्रान्तिको शक्ति लिएर शान्तिको ढोका खोल्ने प्रचण्ड छिटै फेरि नजन्मिन पनि सक्ने भन्दै उनले अघि भने,‘तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ ।’