अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) को तेस्रो बैठक काठमाडौंमा शुरु
काठमाडौं । विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) को तेस्रो बैठक काठमाडौंमा शुरु भएको छ । चार दिनसम्म चल्ने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठूलो बैठक हो ।
बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरे । विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन उनले आग्रह गरेको हो ।
समावेशी आर्थिक विकासका लागि एकीकृत प्रयास गर्दागर्दै पनि राजस्वका सीमा, व्यापार घाटा एवम् बढ्दो ऋणको दायित्वहरूको सामना गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले दिगो विकासका लक्ष्य (एसडीजी), राष्ट्रिय रूपमा निर्धारण गरिएका योगदान (एनडीसी) र पूर्वाधार विकासमा वित्तीय स्रोत अपुग रहेको बताए ।
उनले थप रोजगारीका अवसरहरू सिर्जना गर्न, आर्थिक गतिविधि तीव्र रूपमा अगाडि बढाएर अतिकम विकसित देशबाट स्तरोन्नति हुनका पनि सहुलियतपूर्ण सहायता आवश्यक रहेको पनि बताए । बैठकमा विश्व वैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसेनवर्ग लगायत उच्च पदस्थ पदाधिकारी सहित ६१ देशका दुई सय जनाभन्दा बढी प्रतिनिधि सहभागी छन् ।
बैठकमा आउँदो तीन वर्षका लागि आईडीए देशलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र त्यसको लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्च पदस्थ पदाधिकारीहरूबीच चार दिनसम्म प्राविधिक सत्रमा छलफल हुनेछ ।
प्रकाशित मितिः २०८१ असार ०४ मंगलबार