कावासोती घटनामा नगरपालिका र पीडित परिवारबीच १० बुँदे सहमति
काठमाडौं । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)को कावासोतीमा ड्रेन निर्माण गर्ने क्रममा पुरिएर तीन जना मजदुरको मृत्यु भएको घटनामा दुई पक्षबीच १० बुँदे सहमति भएको छ।
बिहीबार वडा २ स्थित फलफूल चोकदेखि पूर्व नाला पाटीमा ढिस्को पुरिएर २१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया मस्राङ्गी र ३२ वर्षीय चमेली सिंजालीको मृत्यु भएको थियो।
दुई पक्षबिच भएको सहमति अनुसार मृतकको सम्मानमा घटनास्थलमा शिलालेख तयार गर्ने, मृतकका परिवारलाई एक घर एक रोजगारीको ग्यारेन्टी गर्ने र रोजगारमा निरन्तरता दिने, मृतकका बालबच्चाको कक्षा १२ सम्मको शैक्षिक सामग्रीसहित अध्ययन व्यवस्थापन गर्ने, मृतक परिवारको स्वास्थ्य बीमा गर्ने, मृतकको बालबच्चाको नाममा पाँच लाखको मुद्दती खाता खोलेर जम्मा गर्ने र राहतस्वरुप पाँच लाख नगद मृतक परिवारलाई उपलब्ध गराउने, मृतक परिवारलाई किरिया खर्चवापत प्रति परिवार ५० हजार नगद तत्काल उपलब्ध गराउने, मृतकको अवस्था हेरेर परिवारको आवश्यकताको आधारमा सुरक्षित आवासको प्रबन्ध गर्ने र शव व्यवस्थापनको लाग्ने खर्च नगरपालिकाले ब्यहोर्ने सहमति भएको छ।
तीन जना मजदुरको मृत्यु भएपछि शुक्रबार स्थानीयले कावासोती नगरपालिका भवनमा ढुंगामुढा गरी तोडफोड समेत गरेका छन्। प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास समेत प्रहार गरेको थियो।
प्रकाशित मितिः २०८१ जेठ ३२ शुक्रबार