प्रतिनिधिसभा बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल सुरु, खेलकुदमन्त्री अनुपस्थित

भक्तपुर न्यूज

२९ जेठ २०८१ ७:१२

प्रतिनिधिसभा बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल सुरु, खेलकुदमन्त्री अनुपस्थित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि मंगलबारबाट मन्त्रालयगत छलफल सुरु भएको छ।

मंगलबारबाट सुरु भएको छलफलमा संसद् सचिवालयले युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमाथि छलफल हुने कार्यसूची तय गरेको थियो।

तर, मंगलबारको बैठकमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ उपस्थित भएनन्। मन्त्री श्रेष्ठलाई बैठकमा नदेखेपछि कांग्रेस सांसद रामहरी खतिवडाले आपत्ति जनाए।

‘सम्बन्धित मन्त्रीको उपस्थित हुने व्यवस्था गरिएकोमा खेलकुदमन्त्री उपस्थित भएको देखिएन, त्यसकारण बैठक स्थगित गरेर बैठक सञ्चालन गरियोस्,’ उनले भने।

जुन विषयमा छलफल गर्न थालिएको हो सोही विषयको मन्त्रीबिना बैठक चल्न नसक्ने भन्दै उनले बैठक स्थगित गर्न सभामुखसमक्ष आग्रह गरे। उनको मागपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले घडी हेर्दै खतिवडाप्रति इसारा गरेका थिए। लगत्तै सभामुख घिमिरेले युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित छलफलको कार्यसूची हटाएको जानकारी गराए।

‘आजको कार्यसूचीमा रहेको युवा तथा खेलकुद मन्त्रालय सम्बन्धित विनियोजन शीर्षकहरूमाथिको छलफलको मन्त्रीज्यूको उपस्थिति नभएको हुँदा सूचीबाट हटाइएको व्यहोरा जानकारी गराउँदछु,’ सभामुख घिमिरेले भने।

प्रकाशित मितिः २०८१ जेठ २९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *