त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो आधा घण्टाका लागि बन्द गरिने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार दिउँसो आधा घण्टाका लागि बन्द गरिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयद्वारा जारी सूचना अनुसार दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गर्न लागिएको हो ।
कार्यालयका अनुसार अपराह्न १:०० बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा विमानस्थल सङ्कटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरू मध्ये Alert 9.3.1 (विमानस्थलमा विमान दुर्घटना) सम्बन्धी पूर्णकालीन अभ्यास हुनेछ ।
यो अभ्यासको मुख्य उद्देश्य सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरू बिच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायहरूले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटो भन्दा छिटो सुचारु गराउने रहेको छ ।
यो अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको पनि देख्न सकिनेछ ।
प्रकाशित मितिः २०८१ जेठ २८ सोमबार