लोकतन्त्र सुदृढ हुन नैतिक अधिकारको सम्मान गर्ने संस्कार आवश्यक : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरण गर्न ‘मोरल अथोरीटी’को सम्मान गर्ने संस्कार आवश्यक रहेको बताएका छन् । अन्तर व्यवस्थापिका मञ्च नेपालको भेलाले गरेका निष्कर्ष र घोषणापत्र शुक्रबार बिहान शीतल निवासमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘मोरल अथोरीटीको सम्मान गर्ने संस्कार जति विकास हुन्छ त्यति नै लोकतन्त्र सुदृढ हुँदै जाने हो, तर मोरल अथोरीटीको सम्मान गर्ने संस्कार बसीसकेको छैन,’ उनले भने । उनले राजनीतिक दलहरूको भूमिका जनता प्रति उत्तरदायी हुनुपर्ने बताए ।
‘अति दलबन्दीले कहिलेकाही अप्ठयारो पार्छ, यसले निमुखाको न्याय मार्छ त्यसैले एउटा सीमा र मर्यादामा रहेर मात्र दलहरूले भूमिका निर्वाह गर्नुपर्दछ,’ उनले भने ।
उनले हाम्रो संविधानले महिला, दलित, जनजाति, अल्पसङ्ख्यक र निमुखा नागरिकलाई दिएको अधिकार अन्तर्राष्ट्रिय जगतले समेत प्रशंसा गरेको र दक्षिण एशियामा यत्तिको संविधान नभएको बताए ।
संसद्को नेतृत्वको भूमिका लोकतन्त्रका लागि महत्त्पूर्ण हुने भएकाले उनीहरूले तटस्थ भूमिका निर्वाह गर्न सुझाव दिँदै राजनीतिक दलहरूले पनि नेतृत्वप्रति पूर्वाग्रह राख्न नहुने बताए ।
राष्ट्रपति पौडेलले संसद्को काम सरकार निर्माण, कानून निर्माण, जनसरोकारका मुद्दाहरूको सम्बोधन, नागरिक अधिकारहरूको संरक्षण, लोकतान्त्रिक मूल्य मान्यताहरूको सुनिश्चितता र सरकारमाथि निगरानी गर्ने बताए ।
प्रकाशित मितिः २०८१ जेठ २५ शुक्रबार