मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको लागि गृहमन्त्रीले मागे दलहरुको साथ

भक्तपुर न्यूज

२४ जेठ २०८१ १२:४५

मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको लागि गृहमन्त्रीले मागे दलहरुको साथ

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद्को सामनाका लागि राजनीतिक दलहरुको साथ खोजेका छन् । गृह मन्त्रालयमा बिहीबार राजनीतिक दलहरुसँगको छलफलमा उनले विपद्को समयमा अति जोखिममा पर्ने बस्तीलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्नका लागि आवश्यक पहल तुरुन्तै गरिने बताए ।

उनले भने, ‘अति जोखिम भएको स्थानमा बस्ने नागरिकहरुलाई स्थानान्तर गर्ने र त्यसको लागि सेल्टरहरुको आवश्यकता कहाँ लगेर सुरक्षित रुपमा राख्न सकिन्छ त्यसको व्यवस्था तुरुन्त गर्नका लागि आजको बैठकले एउटा उपाय दिएको छ । यसमा लागि आवश्यक पहल आज नै गर्नेछु ।’

यसको साथै उनले विपद् पर्दा कुनै पनि बेलामा एक स्थानमा उभिन सक्ने एउटा टिम बनाउने भन्दै त्यसका लागि स्वयंसेवकका रुपमा राजनीतिक दलहरुबाट दुई–तीनजना प्रतिनिधिको अपेक्षा गरेको बताए ।

उनले भने, ‘आउदै गरेको मनसुनजन्य विपद्को सामनाका लागि गृह मन्त्रालयले स्वयंसेवकका रुपमा राजनीतिक दलहरुबाट दुई–तीनजना साथीहरुको अपेक्षा गर्न सक्छौँ होला, त्यसको केही जानकारी पाउन सक्यौँ हामीले बनाउने योजनामा त्यसको ठूलो भूमिका हुन्छ । हामीले अनुमान गरेको मनसुन भनेको असोज १९ हो, त्यो समयसम्म सम्पूर्ण राजनीतिक दलहरुले हामीले अपेक्षा गर्न सक्ने जनशक्तिबारे जानकारी मन्त्रालयलाई दिनुभयो भने हामीले एकीकृत रुपमा गर्न खोजेको योजनाको लागि सहयोग हुन्छ ।’

विपद्मा पूर्ण रूपमा क्षति भएका, भत्किएका घर निर्माणका लागि बजेट व्यवस्थापन गर्ने र विपद् पश्चात् जग्गा नै बाँकी नरहने व्यक्तिहरुलाई जग्गा किन्न अनुदान दिने विषयको कानुनी प्रावधान कार्यविधि पनि मन्त्रिपरिषद्सम्म पुगेको पनि उनले बताए ।

प्रकाशित मितिः २०८१ जेठ २४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *