आजको मौसम: गण्डकी प्रदेशमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको छ। आज (शुक्रबार) बिहानसम्म कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागको केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
महाशाखाका अनुसार शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
प्रकाशित मितिः २०८० भदौ ०१ शुक्रबार