यो वर्ष औसतभन्दा कम वर्षा
काठमाडौं । यो वर्षको मनसुनमा औसतभन्दा कम वर्षा भएको छ । मनसुनको जारी सिजनमा देशभरका २० वटा वर्षा मापन केन्द्रमा गरिएको मापनअनुसार यो वर्ष औसतभन्दा कम वर्षा भएको पाइएको हो । यस वर्षको मनसुन अवधिमा साउन १५ गतेसम्म मापन गरिएको दैनिक सञ्चित वर्षा औसतभन्दा कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“पछिल्लो केही दिनदेखि नेपालको औसत वर्षा सरदरभन्दा केही कम भएको देखन्छ । मनसुन अवधिमा सरदरमा १ हजार ४७२ मिलिमिटर वर्षा हुन्छ । तर, यो वर्ष साउन १५ गतेसम्म ६५५.५ मिलिमिटर वर्षा भएको छ,” विभागले भनेको छ, “सो वर्षा मनसुन सिजनको चार महिनाको सरदर वर्षाको (१४७२ मिलिमिटर) को ४४.५ प्रतिशत मात्रै हो । आज सम्मको सरदर वर्षाको (७६८.७ मिलिमिटर)को ८५.३ प्रतिशत हो ।”
तराईका अधिकांश जिल्लामा मध्यमदेखि अधिक खडेरीको अवस्था रहेको विभागको भनाइ छ । नेपालगञ्ज, जनकपुर, धनकुटालगायतका भू–भागमा यस अवधी (१ जुन–३१ जुलाई) को सरदर वर्षाको ५० प्रतिशतभन्दा कम वर्षा भएको छ । वर्षको सुरुमै जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरेको थियो । केही जिल्ला तथा क्षेत्रमा वर्षा भइरहे पनि औसतमा भने कम वर्षा भइरहेको हो ।
जेठ १८ देखि असोज १३ सम्मको चार महिनाको मनसुन सिजनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले मनसुन सुरु हुनुभन्दा पहिला नै स्पष्ट पारेको थियो । तर, सरदरभन्दा कम वर्षा हुने सम्भावना स्थानअनुसार फरक रहेको विभागको भनाइ थियो ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका धेरैजसो भू–भाग र कोसी प्रदेशका दक्षिण–पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागको पूर्वानुमान थियो । वाग्मती, मधेस र कोसी प्रदेश तथा अन्य प्रदेशका केही भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको थियो ।