आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै
काठमाडौं । आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदैछ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसला हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको महत्व बढेको हो ।
संस्कृत भाषामा पायस भनिने खीर सात्त्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि प्रसादको रूपमा चढाइने प्रचलन रहेको छ । यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मन पर्ने भएकाले खीरलगायत मिठाई चढाइन्छ । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।
चामल, साबुदाना, सेवइ, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली समाजमा असार १५ गते दहीचिउरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत बनाएर इष्टमित्र एवम् छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।
दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।