अन्तरजिल्ला समन्वय भन्दै नाका सुरक्षा कडाइ नगर्दा कोरोनाको जोखिम बढ्दै
भक्तपुर । उपत्यका प्रवेश गर्ने पूर्वी नाका साँगाबाट भित्रिनेको संख्यामा बृद्धि भएसँगै उपत्यकामा कोरोना संक्रमणमा बृद्धि भएको छ । लकडाउन खुलेसँगै यस नाकाबाट प्रबेश गर्नेहरुको संख्या बढेसँगै दिनानु दिन कोरोना संक्रमितको संख्या थपिँने क्रम रोकिएको छैन ।
उपत्यका प्रवेश गर्ने यो नाकामा गरिएको तीन हजार भन्दा बढि संख्यामा गरिएको स्वाब परिक्षण रिपोर्टको आधार मान्दा पनि यो नाका भएर आउनेहरुमा संक्रमण अन्य नाका भन्दा बढि रहेको पाइएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) हुमकला पाण्डे भन्छिन् , ‘उपत्यका प्रवेश गर्नेहरु मध्य यो नाकाबाट प्रवेश गरेकाहरुमा बढि संक्रमण देखिएको छ । यो नाका हुँदै उपत्यका प्रवेश गरेर विभिन्न अस्पतालमा परिक्षण गराउँदा समेत कोरोना संक्रमितको संख्या बढेको छ ।’
उनले भनिन्, ‘लकडाउन खुलेसँगै यो नाका भएर आवत जावत गर्नेको संख्यामा बृद्धि भए सँगै एक जिल्लाबाट अर्को जिल्ला प्रबेश गर्ने सवारीमा रोक लगाएतापनि मानवीय संवेदनाको आधारमा काभ्रे र भक्तपुरका हकमा छुट दिएको हो ।’
अन्तर जिल्ला समन्वयका आधारमा भक्तपुर र काभ्रे जिल्ला आवत जावतका लागि छुट दिँदै यात्रुहरुले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै साझा यातायातलाई साँगा नाका पार गरेर यात्रु ओसार पसार गर्न छुट दिएको बताईन् ।
दुवै जिल्लाका सिडियो र प्रहरी प्रमुखहरुको बैठक बसेर दुई जिल्लाबीच यात्रुलाई सहज बनाउने वातावरण तयार गरिएको र यसको जानकारी गृह मन्त्रालयमा समेत गराइएको उनले बताइन् ।
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार यो नाका भएर उपत्यका प्रबेश गर्ने संख्या बढी रहेको र कोरोना संक्रमितको संख्या पनि बढि नै देखिएको छ । तर सरकारले भने उपत्यका प्रवेशका लागि विना पासका सवारी साधनलाई रोक लगाउन भनिएकोमा दुवै जिल्लाका सिडियोले भने अन्तरजिल्ला समन्वय गरेको भन्दै साँगा नाका सुरक्षा कडाइ गरिएको देखिएन ।
प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार