आज नाग पञ्चमी मनाइदै

भक्तपुर न्यूज

१० साउन २०७७ १:३३

आज नाग पञ्चमी मनाइदै

काठमाडौँ । आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी । हिन्दु धर्मावलम्वीले अस्टनागको पुजा गरी नाग पञ्चमी मनाइदैछ । आजका दिन घरको मूलद्धारमा नागको तस्विरलाई टाँस्ने गरिन्छ ।

जलाशय पँधेरा, धारा कुवा, इनार लगायत पानीको मुहान स्रोतमा नागको बासस्थान रहने विश्वास रहिआएकाले आजको दिन पानी पँधेरामा पनि कपासको नाग बनाई दूध चढाई पूजा गर्ने चलन पनि रहेको छ ।

नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ। आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ।

ज्योतिषशास्त्र(अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन। भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन।
वैदिक परम्परामा नागलाई शिव र विष्णुका साथै देवीका शक्तिका रुपमा मानिन्छ। पंचायन देवतामध्ये शिवको गलामा नाग विष्णुको शैयामा नाग गणेशका हातमा नाग रहेका छन् भने सूर्यको उपासनामा पनि नागको चर्चा आउँछ। त्रेतायुगीन रामका भाइ लक्ष्मणलाई शेषको अवतार मानिन्छ भने द्वापरयुगीन उनै कृष्णका दाजु बलराम शेषनागका प्रतीक नै हुन्।

नागको पूजा गर्दा चामलको पीठोको मूर्ति स्वरुप नागदम्पती बनाइ गाईको दूध कपासको प्यूरी तील लावा चढाई केराको पातमा राखेर नागको प्रार्थना गर्नाले नागहरु बढी खुसी हुन्छन् भन्ने प्रचलन छ । नागको पूजा गर्ने चलन वैदिककालदेखि नै शुरु भएको हो।

व्रत विधि –

नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने गरिन्छ। यस व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई, त्यसलाई सर्व प्रथम नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी ९भोग लगाई० प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ। व्रत अवधिभरि कुनै किसिमको भोजन गर्नु हुँदैन र समाप्तिमा समेत नुन खानु वा चिल्लो चोपिल्लो परिकारहरूको प्रयोग पनि वर्जित छ। साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ।

नाग पञ्चमीको अवसरमा आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

प्रकाशित मितिः २०७७ साउन १० शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *