आज मध्यरातबाट लकडाउन हट्यो
काठमाडौं ।सरकारले आज मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात आज मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । पटक पटक म्याद थपेर जेठ २६ सम्म पूर्ण रुपमा कायम रह्यो । त्यसपछि निजी सवारी जोर विजोर प्रणालीमा र पसल सञ्चालन गर्न दिएको सरकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै लगेको थियो । तर सरकारले केही क्षेत्रमा प्रतिबन्ध कायमै राखेको छ ।
शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।
सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । सेमिनार र भेला भने गर्न नपाइने उनले बताए । भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिएको छ ।
यस्तै, भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको उनले बताए । स्वदेश आउनै पर्ने नागरिकहरुको हकमा तोकिएका सीमा विन्दुबाट आउन पाइने तर लुकिछिपी आएको खण्डमा कानून अनुसार कारवाही हुने उनले बताए । अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने भएको छ ।
प्रकाशित मितिः २०७७ साउन ०६ मंगलबार