आदिकवि भानुभक्तको २०७ औँ जन्मजयन्ती विबिध कार्यक्रम गरि मनाइँदै
काठमाडौं । आज देशै भर नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती विबिध कार्यक्रम गरि मनाइँदै छ ।
सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ।
२९ असार १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ” भनी अर्ती उपदेश दिएकाले उनी प्रेरित भएका हुन्।
‘वधुशिक्षा’ भानुभक्तको अर्को प्रसिद्ध कृति हो। यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन्। कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए( ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।
यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले भौतिक दूरी आयोजना गरेर मात्र कार्यक्रम गरिने जनाइएको छ । सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्नेले भने घरघरमा नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाउँछन् ।
भानुभक्तको निधन असोज १९२५ सालमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ।
प्रकाशित मितिः २०७७ असार २९ सोमबार