उपत्यकाको पूर्वी नाका साँगाबाट प्रवेशमा कडाइ
भक्तपुर । उपत्यका प्रवेशको पूर्वी नाका साँगाबाट प्रवेशमा कडाइ गरिएको छ । यो नाकामा चोर बाटो हुँदै उपत्यका प्रवेश गर्नेहरुको संख्या बढ्दो अवस्थालाई मध्यनजर गर्दै भक्तपुर प्रहरीले थप सर्तकता अपनाउँदै कडाई गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी तारादेवी थापाले बताईन् ।
उनले गृह मन्त्रालयको निर्देशनलाई पालना गर्दैै यो नाकाबाट प्रवेश गर्ने सवारी साधन र यात्रहरुले सरकारले जारी गरेको निर्देशन पालना गरि मात्र प्रवेश गराउने गरेको उनले जानकारी दिइन् ।
सरकारले जारी गरेको प्रवेश पास लिएर यो नाका हुँदै दैनिक आउने झन्डै १५० भन्दा बढी सवारी साधन प्रवेश गर्ने गरेको उनले जानकारी दिइन् ।
यो नाका हुँदै दैनिकका चार पाँच सय मानिस उपत्यका भित्रिने गरेका छन् भने यो महिनामा यो नाकाबाट झन्डै तीन हजार सवारी फिर्ता गर्नुका साथै ६ हजार भन्दा बढी मानिस मात्र फिर्ता गरिएको थापाले जानकारी दिइन् ।
गृहले उपत्यका प्रवेश गर्दा आरडिटि वा पिसिआर परिक्षणको रिपोर्ट देखाउने पर्ने जनाएता पनि पछिल्लो समय एक स्थानबाट अर्को स्थानमा जाँदा स्थानिय सरकारसँगको समन्वयमा प्रशासनले पास उपलब्ध गराउने गरेसँगै आरडिटि र पिसिआरको रिर्पोट आवश्यक नपर्ने बताए ।
यस्तै, महानगरीय प्रहरी वृत्त जगातिका प्रमुख डिएसपी चक्रराज जोशीले गृहको परिपत्रअनुसार अब साँगा नाकामा मात्रै नभई प्रत्येक जिल्लाको बोर्डरमा पनि चेकजाँच हुने भएपछि साँगा नाकामा बिना पास आउने संख्यामा कमी आउने बताए ।
प्रकाशित मितिः २०७७ असार २३ मंगलबार