आज विश्व योग दिवस मनाइँदै
काठमाडौँ । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । योगका विभिन्न आसन तथा ध्यानलगायतका कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो। भारतको नेतृत्वमा सुरुवात गरिएको योग दिवस मनाउन अभियानलाई संयुक्त राष्ट्र संघको साधारणसभाले ११ डिसेम्बर २०१४ मा मान्यता दिएको थियो।
राष्ट्र संघले मान्यता दिएसँगै २१ जुनलाई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योगलाई प्रभावकारी मानिएको छ। पछिल्लो समय देखिँदै आएका कतिपय स्वास्थ्य समस्याहरु योग गरे समाधान हुने चिकित्सकहरु बताउँछन्।
“भवतापेंन तप्तानाम योगो हि परमौषधम” अर्थात् सांसारिक दुःखकष्टहरुको एक मात्र औषधी योग हो ।
हाम्रा ऋषिमुनिहरुका योग साधनालाई अनुसरण गरेर विश्वभरि योग दिवस मनाइन्छ । त्यसो त आजकल विभिन्न सम्प्रदाय ,धार्मीक संघसंस्था लगायत थुप्रै योगाचार्यहरुले विभिन्न तरिकाले मानिसहरुलाई योगतर्फ उन्मुख गराउन प्रेरित गरिरहेका देखिन्छन् ।
योग मानिसको जीवन जिउने कला मध्यको एउटा महत्वपूर्ण माध्यम हो तथापि हातखुट्टा तन्काउनु, स्वाप्रस्वासका प्रक्रिया मार्फत शारीरिक अभ्यास गर्नु मात्र योग होइन । योग हाम्रो जीवन पूर्णतासाथ जिउन आवश्यक पर्ने जीवन पद्दति र पूर्ण जीवनशैली अनि आनन्दित जीवन जिउने कला हो । योगलाई मानिसहरुले शारीरिक स्वास्थ्य र तन्दुरुस्तीको माध्यम बनाएका हुन सक्छन् । तर, योग शारीरिक समस्याहरुको समाधान मात्र नभएर जीवनका सम्पूर्ण समस्याहरुको समाधान हो ।
प्रकाशित मितिः२०७७ असार ०७ आइतबार